रसुवाको स्याफ्रुवेशी उडेको थियो हेलिकप्टर, ३ मिनेटमा नै दुर्घटनामा पर्याे

रसुवाको स्याफ्रुवेशी उडेको थियो हेलिकप्टर, ३ मिनेटमा नै दुर्घटनामा पर्याे


काठमाडौं – नुवाकोटमा दुर्घटना भएको एयर डाइनेष्टिको हेलिकप्टर स्याफ्रुेवशी उडेको पाइएको छ । नुवाकोटमा दुर्घटना भएको हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीतर्फ उडान भरेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

सो हेलिकप्टर उडान भरेकी ३ मिनेटमा दुर्घटनामा परेको समेत प्राधिकरणले जानकारी दिएको छ । टावरसँग सम्पर्क विच्छेद भएसँगै हेलिकप्टर शिवपुर गाउँपालिकाको सूर्य चौरमा दुर्घटनामा परेको हो ।

एयर डाइनेष्टिको ९एन–एजेडी हेलिकप्टरमा चालकसहित कूल ५ यात्रु सवार थिए । जसमा ४ चिनियाँ नागरिक समेत थिए । दुर्घटनामा परेका उनीहरु सबैजनाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ । यससँगै नेपाली आकाशमा अहिलेसम्म कूल ४० पटक हेलिकप्टर दुर्घटना भएको प्राधिकरणले जानकारी दिएको छ । यसअघि सन् २०१९ मा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

सन् २०१९ मा दुर्घटनामा परेको हेलिकप्टर दुर्घटना ३९औं थियो । आज सुर्यचौरमा परेको दुर्घटना ४०औं भएको प्राधिकरणले जानकारी दिएको छ । हालसम्म दुर्घटनामा परेको हेलिकप्टरमा परी १०० भन्दा बढीले ज्यान गुमाएका छन् ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै विमान दुर्घटनामा परेको थियो । त्यो दुर्घटना १५ दिन अघि मात्रै भएको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो ।

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । ‘सी–चेक’का लागि पोखरा उडेको विमानमा पाइलटसहित १९ यात्रु थिए । जसमा पाइलटबाहेक सबै जनाको मृत्यु भएको थियो ।

यससँगै साउन महिनामा मात्रै नेपालमा भएको हवाई दुर्घटनामा परेर कूल २३ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ५ जनाको ज्यान आजैको दुर्घटनामा गुमेको हो ।