काठमाडौं – आज मंगलबार नेपाल स्टक स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.१८ प्रतिशतले घटेको छ । कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १४५.०५ अंकले घटेर बन्द भएको हो ।
यससँगै आज नेप्से परिसूचक २६ सय ५१ अंकमा आएर रोकिएको छ । आज विहान नेप्सेको कारोबार २७ सय ९६ अंकबाट कारोबार सुरु भएको थियो । हिजो सोमबार ४० अंकले बढेपनि आज मंगलबार भने परिसूचक उच्च अंकले घटेर बन्द भएको हो ।
विगत लामो समयदेखि निरन्तर बढ्दै २८ सय अंकको बिन्दु नजिक पुगेको परिसूचक फेरी २६ सय अंकतर्फ झरेको हो । वाणिज्य बैंक चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक भएपछि शेयर बजारमा हिजो नै तीव्र गतिको घटबढ देखिएको थियो ।
यसबाहेक विश्वको आर्थिक महाशक्ती अमेरिकाको अर्थतन्त्र मन्दीमा जाने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार अमेरिकाको अर्थतन्त्रमा समस्या देखिएको छ । यसको प्रभाव विश्वभरको शेयर बजारमा नकरात्मक देखिएको छ ।
कारोबार खुल्दा नेपालको शेयर बजारमा वृद्धिको छाँट देखिएपनि अन्तिम समयसम्ममा ठूलो अंकले घटेको हो । आज नेप्सेमा शेयर बिक्री गर्न चाहने बढे । जसको प्रेसर’ बजारमा पर्यो र किन्न चाहनेभन्दा बेच्न चाहनेको दबदबा बढी भयो । फलस्वरुपः बजार उच्च अंकले घटेको हो ।
बजार उच्च अंकले घट्दा किर्तिमानी कारोबार
आज नेप्सेमा अहिलेसम्मकै किर्तिमानी कारोबार भएको छ । कारोबार अवधिभर आज २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यसक्रममा ५ करोड ३८ लाख कित्ताभन्दा बढी शेयर किनबेच भएको छ ।
यसअघि अघिल्लो साता शेयर बजारमा २१ अर्ब ९१ करोड रुपैयाँको किर्तिमानी कारोबार भएको थियो । त्यो कारोबार रकमलाई पनि पछि पार्दै आज नयाँ किर्तिमानी कारोबार भएको हो ।
यस्तै आज ८ वटा कम्पनीको शेयर मूल्य बढेको छ । २४४ वटा कम्पनीको शेयर किनबेच हुँदा ८ वटाको मात्रै बढेको हो । यसक्रममा २३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ र एउटा कम्पनीको मूल्य स्थिर कायम भएको छ ।
प्रतिक्रिया