अडिटर्सले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन भूमिका खेल्ने अर्थमन्त्री पौडेलको विश्वास

अडिटर्सले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन भूमिका खेल्ने अर्थमन्त्री पौडेलको विश्वास


काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अडिटर्सहको भूमिका राष्ट्रको पक्षमा हुने विश्वास व्यक्त गरेका छन् । आज राजधानीमा आयोजित अडिटर्स एसोसिएसन नेपाल (अडान)को १९औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अडिटर्सले देशको पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका हुन् ।

‘अडानमा आबद्ध ८ हजार अडिटर्सप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु,’ अर्थमन्त्री पौडेलले भने, ‘मुलुकको समग्र आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन, स्वच्छ बनाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन अडिटर्सको भूमिका सकारात्मक रहन्छ भन्ने अपेक्षा मेरो रहन्छ ।’

यस्तै अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न र अनौपचारिक अर्थतन्त्रलाई स्वच्छ र मर्यादित बनाउनका लागि अडिटर्सको भूमिका महत्त्वपूर्ण हुन्छ । ‘त्यस कारणले म अडानसँग खास गरीकन आर्थिक क्रियाकलापमा अस्वस्थ क्रियाकलाप रोक्नुहुन्छ भन्ने अपेक्षा राख्छु,’ उनले थपे, ‘पारदर्शी र स्वच्छ मर्यादित काममा अडानले अडान लिनेछ ।’

यस्तै, अर्थमन्त्री पौडेलले कुनै अनुचित कामका लागि अडानमा आबद्ध अडिटर्स प्रोत्साहित नबन्ने अपेक्षा समेत अर्थमन्त्री पौडेलको छ । ‘पारदर्शी लेखा प्रणालीमार्फत अडानले समग्र अर्थतन्त्रमा एक हिसाबको योगदान गर्नेछ,’ अर्थमन्त्रीले भने, ‘कर सम्बद्ध कानूनको पालनाका लागि यहाँहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।’ यो भूमिकामा अडिटर्स उत्कृष्ट हुनेमा अर्थमन्त्रीले विश्वास व्यक्त गरे ।

अडिटर्सले आफ्नो विवेक, ज्ञान र नजरलाई कानूनको प्रभावकारी रुपले परिपालना गर्नुपर्ने अर्थमन्त्री पौडेलको भनाई छ । यस्तै उनले यति बेला सरकारले दुई कुरामा जोड दिइरहेको समेत बताए । जनतामा देखिएको देखिएको निराशा चिर्ने र जनतामा आशा जगाउने विषय महत्त्वपूर्ण मुद्दा भएको अर्थमन्त्री पौडेलको भनाई छ ।