ओली सरकारले एकैपटक गर्यो २१ सचिवको सरुवा, अर्थसचिवमा घिमिरे

ओली सरकारले एकैपटक गर्यो २१ सचिवको सरुवा, अर्थसचिवमा घिमिरे


काठमाडाैं – दुई ठुला राजनीतिक दलहरूको गठ जोडसँगै बनेको नयाँ सरकारले सचिवहरूको सरुवा गरेको छ। नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेको केपी शर्मा ओलीले सत्ता सम्हालेको केही साता नबित्दै कर्मचारीतन्त्रमा ठुलो फेरबदल गरेका हुन् ।

सरकारको नेतृत्व फेरबदल भएसँगै आफू अनुकूल सचिव ल्याउन सरुवा गर्ने प्रचलन छ। सोहीबमोजिम प्रधानमन्त्री ओलीले एकै पटक २१ जना सचिवहरूको सरुवा गरेका हुन् । सरुवाको सूचीमा अर्थ मन्त्रालयका अर्थ सचिव र राजश्व सचिव समेत परेका छन्।

हालसम्म अर्थ सचिवको भूमिकामा रहेका मधुकुमार मरासिनी फेरिएका छन् । उनको ठाउँमा राजश्व सविच डा. रामप्रसाद घिमिरे अर्थ सचिवको भूमिकामा आएका छन् । यस्तै राजश्व सचिवमा उद्योग सचिव दिनेश कुमार घिमिरे आएका छन्।

यस्तै, सरुवापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा केशवकुमार शर्मा आएका छन् भने ऊर्जा सचिवमा गोपालप्रसाद शर्मा आएका छन् । यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवकारुपमा सरुवा भएका छन् ।

यस्तै अर्थसचिवबाट फेरिएका मरासिनी उपराष्ट्रपति कार्यालय पुर्याइएका छन् भने अख्तियार अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा सचिवमा पुगेका छन् । यसबाहेक लोकसेवा आयोगमा डिल्लीराम शर्मा, संघीय मामिला सचिवमा भरत सुवेदी, वित्त आयोगमा किरणराज शर्मा सरुवा गर्ने मन्त्रीपरिषद्को निर्णय छ ।

राष्ट्रपतिको कार्यालयमा नारायण प्रसाद दुवाडी, सार्वजनिक खरिद कार्यालयमा रामकृष्ण सुवेदी, प्रधानमन्त्री कार्यालयमा राजकुमार श्रेष्ठ र वाणिज्य सचिवमा मधुसुदन बुर्लाकोटी सरुवा भएका छन् । असार १७ गते राती भएको सम्झौता बमोजिम असार ३१ गते सपथ लिएका थिए । उनले यही साउन ६ गते संसदबाट विश्वासको मत लिएका थिए । त्यसपछि लगत्तै विभिन्न मन्त्रालय र निकायमा आफूअनुकुल ल्याउन सचिव हेरफेर गरिएको हो ।