निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न सरकारले अध्ययन गर्ने

निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न सरकारले अध्ययन गर्ने


काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने बिषयमा सरकारले अध्ययन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग वुधबार भएको भेटमा गृहमन्त्री लेखकले निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्नुपर्नेमा कुनै विवाद नरहेको वताएका हुन् ।

भेटका क्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल घटिरहेको बेलामा निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा सकारात्मक सन्देश जाने वताए । यसबारे महासंघले निरन्तर सरकारसँग पैरवी गरिरहेको छ ।

यसैगरि उद्यमी व्यवसायीमाथि हुने धरपकडले निजी क्षेत्र हतोत्साही भएकोतर्फ पनि अध्यक्ष ढकालले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराए । मन्त्री लेखकले वर्तमान सरकार निजी क्षेत्र र लगानी प्रति निक्कै सम्वेदनशील भएको बताए ।

सरकार गठन गर्दा भएको सहमतिमा समेत स्वदेशी र विदेशी लगानी प्रर्बद्धन गर्ने बिषय समावेश भएको बताउँदै मन्त्री लेखकले कुनै समस्या भए आफूलाई सम्पर्क गर्न आग्रह गरे ।