स्मार्ट च्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल सर्वसम्मत चयन, डेपुटी गभर्नरबाट लिए सपथ

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) को सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल चयन भएका छन। सोमबार बसेको सञ्चालक समितिको बैठकबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
उनले अध्यक्ष पदको सपथ नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाबाट लिएका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोवारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनु पर्ने बताइन्। मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउदै उनले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताइन्।

एससीटी बैंकिङ्ग क्षेत्रमा भुक्तानी सम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको कम्पनी हो। कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरु मार्फत प्रवाह भैरहेको छ। 

कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा डिजिटल पेमेन्ट प्लाटफर्म, स्मार्ट क्युआर, डिजिटल बैकिङ सर्भिस र पेमेन्ट गेटवे को सेवा समेत उपलब्ध गराउदै आएको छ। 

पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा नेपाल राष्ट्र बैंकको बिद्युतीय भुक्तानीलाई प्रवद्र्घन गर्दै जाने नीति अनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढ्ने बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, निर्देशक निश्चल अधिकारी, उप निर्देशक तिर्थ ओझाका साथै एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुको उपस्थिति रहेको थियो।