काठमाडौं – ललितपुर जिल्ला प्रहरीले नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिवसहित ४ जनालाई मुद्दा दायर गरेको छ। फुटबलसँगमा रहेर आर्थिक अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रहरीका अनुसार अध्यक्ष पंकजबिक्रम थापा, महासचिव किरण राई, कोषध्यक्ष रविन्द्रजोशी र लेखाअधिकृत रबिन्द्र पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूले फुटबलको खेल सामाग्री किन्दा अनियमितता गरेको, विश्वकप २०२४ को छनौट खेल बहराइनमा खेलाउन चलखेल गर्दै टिकटबापतको आम्दानी रकम २० हजार अमेरिकी डलर हिनामिना गरेको, र केल्मी ब्राण्डको जर्सि र स्टोर्टस सामग्री किन्दा अनियमितता गरेको आरोप लगाइएको छ।
उनीहरुविरुद्धको सुरुवाती अनुसन्धान केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको थियो। सीआईबीको ठहरअनुसार ललितपुर प्रहरीले थप अनुसन्धान गर्दै ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध विभिन्न शीर्षकमा अनियमितता गरेको भन्दै ९३ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। अभियोगपत्रअनुसार, एन्फाले खेल सामग्री खरिद गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रक्रिया र वित्तीय अनुशासन पालना नगरेको आरोप छ। राष्ट्रिय खेलकुद परिषद्को छानबिन उपसमितिले १० लाख रुपैयाँभन्दा माथिको खरिदमा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै तीनवटा कोटेशनका आधारमा खरिद गरिएको औँल्याएको छ। ती कम्पनी एउटै स्वामित्वअन्तर्गत रहेको हुन सक्ने आशङ्कासमेत गरिएको छ।
पछिल्लो साढे तीन वर्षमा करिब १४ देखि १५ करोड रुपैयाँ बराबरको खेल सामग्री खरिद तथा वितरणमा अनियमितता भएको आशंका छ। शेर्पा आउटडुअर (केटीएम सिटी) सँगको खेल सामग्री खरिद तथा प्रायोजन रकमको व्यवस्थापनमाथि समेत प्रश्न उठाइएको छ। फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि अयोग्य रहेको भन्दै बहराइनमा सारिएको थियो। अभियोगपत्रमा अन्तर्राष्ट्रिय खेलअघि रंगशालामा गैरअन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न सिफारिस गरी मैदानको अवस्था बिगारिएको र एसियाली फुटबल महासंघ (एएफसी) ले तटस्थ मैदान प्रस्ताव गर्न निर्देशन दिएपछि प्रतिस्पर्धी बहराइनमै खेल आयोजना गर्ने सम्झौता गरिएको उल्लेख छ।
यसका कारण नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको र बहराइनमा भएका दुवै खेल क्रमशः ५–० र ३–० गोलले हारेको थियो। उक्त कार्य राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ र ३२(ग) विपरीत भएको आरोप लगाइएको छ। नेपाल–बहराइन खेलको टिकट बिक्रीबाट एन्फाले पाउनुपर्ने २० हजार अमेरिकी डलर संस्थाको बैंक खातामा जम्मा नभएको आरोप पनि छ। सम्झौताअनुसार प्राप्त हुनुपर्ने रकमको लेखांकन तथा असुली नगरेको भन्दै सम्बन्धित पदाधिकारीमाथि ठगीसम्बन्धी कसुरको आरोप लगाइएको छ।
फिफा विश्वकप २०२६ का लागि एन्फालाई प्राप्त ३३० टिकटको बिक्री, वितरण र आम्दानीको विवरणमा समेत अनियमितताको आशंका गरिएको छ। छानबिनका क्रममा टिकट कसलाई कति मूल्यमा बिक्री गरियो र त्यसबाट प्राप्त रकम कहाँ जम्मा भयो भन्ने पूर्ण विवरण कोषाध्यक्ष र लेखा अधिकृतले प्रस्तुत गर्न नसकेको उल्लेख छ। त्यस्तै, एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठले लिएका चार टिकटमध्ये क्वार्टरफाइनलका दुई टिकट फेसबुकमार्फत बिक्रीमा राखिएको पाइएको जनाइएको छ। संस्थागत प्रयोजनका टिकट व्यक्तिगत रूपमा हस्तान्तरण तथा बिक्री गरिएको र कारोबारको पूर्ण विवरण स्पष्ट नभएको विषयमा अनुसन्धान गरिएको छ।






About Us
प्रतिक्रिया