मनोज कुमार केसीः ‘इन्स्पेक्टर’ देखि ३४ औँ महानिरीक्षकसम्मको यात्रा…


काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजिपी) डा. मनोज कुमार केसी प्रहरीको महानिरीक्षक (आईजिपी) पदमा नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्काे बैठकले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्दे केसीलाई आईजिपीमा नियुक्त गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम केसीलाई २०८३ कात्तिक १८ गतेदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्।

नवनियुक्त प्रहरी महानिरीक्षक केसी अपराध अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको ठगी प्रकरणको अनुसन्धान अघि बढाउन खेलेको भूमिकाले उनलाई चर्चामा ल्याएको थियो। भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नेतृत्व गरेका केसीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए। त्यस बेलामा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए। २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएका थिए।

केसीले आफ्नो करिअरमा अनेकौँ जटिल, संवेदनशील र हाई–प्रोफाइल अपराधहरूको सफल अनुसन्धान गरी शान्ति–सुरक्षा र न्याय प्रणालीलाई मजबुत बनाउन निर्णायक भूमिका निर्वाह गरेका छन्। हाई–प्रोफाइल अपराधहरूको सफल अनुसन्धान कै कारण दोस्रो वरियतामा रहेका एआईजी राजन अधिकारीलाई उछिन्दै तेस्रो वरियतामा रहेका केसी आईजिपीमा बढुवा भएका हुन्।

केसीले २०५४ चैत्र २८ गते (३१ मार्च १९९८) प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनी र निवर्तमान महानिरीक्षक कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्। केसी यसअघि पनि प्रहरी महानिरीक्षकका प्रतिस्पर्धी थिए। तर, तत्कालीन सरकारले कार्कीलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो। केसी २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका थिए।

२०८३ असारदेखि उनी नेपाल प्रहरीकाे अपराध अनुसन्धान विभागको प्रमुखका रुपमा रहेका छन्। करिब २८ वर्ष लामो प्रहरी सेवामा उनले अपराध अनुसन्धान, फिल्ड कमान्ड, संगठनात्मक व्यवस्थापन, प्रहरी प्रशिक्षण तथा नीतिगत सुधारका क्षेत्रमा उल्लेखनीय अनुभव हासिल गरेका छन्। प्रहरी सेवाका विभिन्न तहमा जिम्मेवारी निर्वाह गर्ने क्रममा उनले जिल्ला प्रहरी प्रमुखदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अपराध अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण निकायहरूको नेतृत्व गरेका छन्। उनले २०८२ असोज ५ गतेदेखि २०८३ असारसम्म सीआईबीमा रही जिम्मेवारी सम्हालेका थिए। उनी पूर्व आईजीपी चन्द्रकुवेर खापुङ आईजीपी बनेपछि सीआईबी प्रमुख बने।

मोरङ र रूपन्देही जिल्लाको प्रहरी प्रमुखका रूपमा उनले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। विशेषगरी आर्थिक अपराध, संगठित अपराध, वित्तीय ठगी, प्रविधिको दुरुपयोग तथा सार्वजनिक सम्पत्तिसँग सम्बन्धित अपराध अनुसन्धानमा उनको अनुभव उल्लेखनीय रहेको छ। उनले सीआईबी प्रमुखमा रहँदा नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित ठगी, धितोपत्र तथा बीमा क्षेत्रका अपराध, क्रिप्टोकरेन्सीसम्बन्धी कसुर र सरकारी जग्गाको अतिक्रमण तथा हिनामिनाजस्ता जटिल विषयमा अनुसन्धान अघि बढाएका थिए।

प्रहरीमा लामो समय बिताइसकेका केसीले कम्बोडियास्थित पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। साथै, उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानव शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्। कम्बोडियास्थित पन्नासत्र विश्वविद्यालयबाट व्यावहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा पनि स्नातकोत्तर गरेका छन्।

उनी नेपाल प्रहरी कर्मचारी कलेज महाराजगन्जका संस्थापक निर्देशक हुन्। उक्त कलेजमा प्रहरी विज्ञानमा स्नातकोत्तर कार्यक्रमको पाठ्यक्रम निर्माण तथा शैक्षिक विकासमा उनले योगदान पुर्‍याएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण तथा शैक्षिक गतिविधिमा संलग्न रहनुका साथै त्रिभुवन विश्वविद्यालय र त्यसका आङ्गिक क्याम्पसहरूमा समेत उनी अतिथि अध्यापकका रूपमा रहेका छन्।

प्रहरी सेवामा मात्र नभई अन्तर्राष्ट्रिय शान्ति स्थापनाका क्षेत्रमा समेत केसीको अनुभव छ। उनले संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत कोसोभो र हैटीमा सुरक्षा अधिकृतका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। द्वन्द्वपछिको समाजमा शान्ति सुरक्षा कायम गर्ने, स्थानीय प्रहरीको क्षमता विकास गर्ने र संस्थागत पुनर्निर्माणमा उनको योगदान रहेको छ। उनी नेपाली, अंग्रेजी, फ्रान्सेली र स्पेनी भाषामा दक्ष छन्।

केसी अनुसन्धान र लेखनलाई प्रहरी सेवाको अभिन्न पक्षका रूपमा लिन्छन्। उनका सन् २०१३ मा तयार गरिएको ‘आइडेन्टिफाइ इफेक्टिभ मेजर्स टु कम्ब्याट अर्गनाइज्ड क्राइम इन पोस्ट–कन्फ्लिक्ट काठमाडौं’ अनुसन्धान ग्रन्थ र सन् २०२३ मा प्रकाशित ‘इन्हान्सिङ पुलिसिङ इन नेपाल’, ह्युमन सेक्युरिटी–इन्फम्र्ड पुलिसिङ इन नेपालस् मोटिभेसन टु बिल्ड सेन्स अफ सेक्युरिटी इन कम्युनिटी लगायतका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रहरी पत्रिकाहरूमा लेखहरू प्रकाशित छन्। प्रहरी सेवामा पुर्‍याएको योगदान, उत्कृष्ट कार्यसम्पादन तथा अनुसन्धान क्षेत्रमा देखाएको व्यावसायिक दक्षताको कदर स्वरूप केसी विभिन्न सम्मान तथा विभूषणबाट सम्मानित भएका छन्। उनले ‘सुप्रबल जनसेवा श्री’ र ‘प्रबल गोरखा दक्षिण बाहु’ जस्ता राष्ट्रिय सम्मान प्राप्त गरेका छन्। साथै, उनी उत्कृष्ट अनुसन्धानकर्ता र उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रूपमा समेत सम्मानित भएका थिए।