काठमाडौं – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको घटनामा पक्राउ परेका दुईजना पूर्वमन्त्रीसहित १० जनामाथि दुई दिन म्याद थप भएको छ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, रामेश्वर राय यादवसहित १० जनामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दुई दिन अनुमति दिएको अदालतको सूचना अधिकारी शिव खतिवडाले बताए। यस प्रकरण हालसम्म १० जना पक्राउ परिसकेका छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ। मलेसिया जाने कामदारहरूसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्कको नाममा म्याक्रोटेक प्रालि नामको कम्पनीले स्वास्थ्य परीक्षणको नाममा रकम असुलेको थियो।
मेडिकल स्क्रिनिङको नाममा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर असुल गरेको १ अर्ब ६९ करोड २ लाख २४ हजार रकम मलेसिया पठाउन ४ पटक मन्त्रीस्तरीय निर्णय भएको भेटिएको छ।





About Us
प्रतिक्रिया