बैंकिङ समाचार ।
बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव बढ्न थालेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण जोखिमका कारण सरकारले लगाएको निषेधाज्ञामा पनि कर्जा विस्तार उच्च देखिएपछि तरलता संकुचन भएको हो ।
कोरोनाको दोस्रो लहरका कारण सरकारले बैंशाख १६ गते देखि देशका अधिकांस जिल्लाहरमा निषेधाज्ञा जारी गरेकोे छ । यस्तो अवस्थामा पनि बैंकहरुले कर्जा विस्तार तिब्र पारेका छन् । निषेधाज्ञापछिको एक साता अर्थात बैंशाख १७ गते देखि २४ गतेसम्म ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । त्यसका साथै निषेधाज्ञा जारी भएपछि सर्वसाधारणले घरमै नगद राख्ने क्रम बढेकाले पनि बैंकहरुमा तरलता संकुचन भएको हो।
बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि बैंकहरुले अन्तर बैंक सापटि नै करिब ५ प्रतिशत ब्याजदरमा लिने दिने गरेका छन् । बैंकिङ प्रणालीमा तरलताको चाप बढेपछि नेपाल राष्ट्र बैंकले पनि केही दिन अघि मात्र २० अर्ब रुपैयाँ बरावरको रिपो मार्फत बजारमा पैसा पठाएको छ । राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दा बैंक वित्तीय संस्थाले २७ अर्ब रुपैयाँ बरावरको रकम माग गरेका थिए । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको रिपो जारी गरेको यो नै पहिलो पनि हो।
कोरोनाको दोस्रो लहर सुरु हुनु भन्दा अघिदेखि नै बैंकहरुले आक्रामक रुपमा कर्जा प्रबाह गर्दा तरलता कसिलो अवस्थामा देखिएको थियो । बैंकहले कर्जा नघटाउने वित्तीय प्रणालीको निक्षेप झिकिने समस्याले गर्दा पनि तरलता संकुचन भएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “हाल वित्तीय प्रणालीमा केन्द्रीय बैंकले पठाएको रिपो सहित करिब ५० अर्बको हाराहारीमा हो,” उनले भने,“रिपो पठाउनु भन्दा अघि वित्तीय प्रणालीमा करिब ३० देखि ३२ हजारको हाराहारीमा तरलता थियो ।”
रिपोपछि तरलतामा केही सहजता आएको भएपनि गत बिहीबारसम्ममा बैंकहरुले अन्तर बैंक सापटि ४.८७ प्रतिशतमा गरेका छन् । बैंकहरुको अन्तर बैंक ४.१७ प्रतिशतमा झरेको छ । अन्तर बैंक दर करिब ५ प्रतिशत पुग्नु, बैंकहरुले निषेधाज्ञाको अवधिमा पनि एक सातामा १५ अर्ब कर्जा लगानी गर्नु, सर्वसाधारणले निक्षेप झिकेर घरमा राखेको हुनाले पनि तरलता संकुचन भएको स्पष्ट हुन्छ ।
राष्ट्र बैंकले बैंशाख ३० गते २० अर्बको रिपो जारी गरेको भएपनि त्यो १४ दिनका लागि मात्र हो । त्यो संगै केन्द्रीय बैंकले जेठ ३ गते सोमबार १३ अर्ब ७४ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारी ट्रेजरी नयाँ नभई पुरानोलाई नबिकरण गर्ने भएकाले त्यसले तरलतामा खासै असर नगर्ने देखिन्छ । तरलता संकुचनले गर्दा ट्रेजरी बिलको रेट समेत तुलनात्मक रुपमा बढेर साढे २ प्रतिशत देखिए साढे ३ प्रतिशतसम्म पुगेको छ ।
प्रतिक्रिया