चन्द्र प्रसाद ढकाल पनि सहकारीको ऋण नतिर्नेको सूचीमा

कतैबाट ऋण नलिएको ढकालको प्रतिक्रिया


काठमाडौं- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को अध्यक्ष चन्द्र ढकाल तत्कालिन अध्यक्ष रहेको ‘महेन्द्र नारायण निधी मेमोरियल स्वास्थ्य सहकारी संस्था’ ले अन्य सहकारीबाट ऋण लिएपछि फिर्ता नगरेको पाइएको छ । ललितपुर जिल्ला ललितपुर महानगरपालिका पुल्चोकमा केन्द्रीय कार्यलय रहेको श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाबाट लिएको कर्जा चुक्ता गरेका छैनन् ।

लालीगुराँस सहकारीले कर्जा चुक्ता गर्ने सम्बन्धमा पटकपटक कर्जा चुत्ता गर्न ताकेता गर्दा पनि वेवास्ता गरेको उल्लेख गरेको छ । लालीगुराँसले एक सूचना जारी गर्दै १५ दिनभित्र सावाँ, ब्याज र अन्य दस्तुर समेत चुक्ता गर्न अल्टिमेटम दिएको छ । यदी भुक्तानी नगरेमा सहकारी ऐन २०७४, सहकारी नियामावली २०७५ अनुसार ऋणी तथा जमानी बस्ने व्यक्तिहरुको चल अचल सम्पत्तिहरुबाट असुल गर्ने समेत उल्लेख गरेको छ ।

महेन्द्र नारायण निधी मेमोरियल स्वास्थ्य सहकारी संस्थामा तत्कालिन अध्यक्ष चन्द्र ढकाल छन् भने उपाध्यक्षमा शालीग्राम मिश्र छन् । त्यस्तै, सदस्यहरुमा अनामिका निधि, भानुभक्त ढकाल, कृष्ण कुमार मगर, सुनिल झा, मनोज भण्डारी, किरण गुप्ता, बिजया भण्डारी लम्साल, सरस्वति आचार्य तिमल्सिना र नवराज न्यौपाने रहेका छन् ।

सहकारी विभागका अनुसार सहकारी संस्था भन्दा माथिल्लो संघहरुको अध्यक्ष पदमा निर्वाचित भएपछि सहकारीको अध्यक्ष पद स्वत बदर हुन्छ । त्यसैले हाल संस्थाको अध्यक्षमा आफु नरहेको ढकाल बताउँछन् । उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा आफु अध्यक्ष हुँदा त्यसरी कुनै सहकारीबाट कर्जा लिएको याद नभएको प्रतिक्रिया दिए । उनले भने ‘ म अध्यक्ष हुँदा त्यसरी कुनै पनि सहकारी संस्थाबाट ऋण लिएको छैन ।’

पछिल्लो समय सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै व्यापक रुपमा आइरहेको सुनिन्छ । देशमा छाएको आर्थिक मन्दीका कारण सहकारी क्षेत्र पनि समस्या परेको विज्ञहरुको बुझाई छ ।

अध्यक्ष नियक्त भएपछि बुधबारमात्र विनोद चौधरीले ढकाललाई भेटेर शुभकामना दिएका थिए ।