थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो


मनाङ – अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रुपमा बग्न थालेको छ। नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ। नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जाल अवरुद्ध भएको जानकारी दिए।

‘विपदको समयमा हामी टेलिफोन, विद्युत् र सडक सञ्जालबाट नै विच्छेद भएका छौँ’, उनले भने, ‘स्थानीय सरकारले उपलब्ध सीमित स्रोत साधन परिचालन गरी अधिकतम काम गरिरहेको छ। यति बेला प्रदेश र सङ्घ सरकारले हामीलाई अभिभावक भएको महसुस गराउन सक्नुपर्छ।’ उनका अनुसार बाढी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयबासी आज विहानै आ-आफ्नो घर तथा गाउँमा भएको क्षतिकाबारे जानकारी लिन थालेका छन्।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको  मर्स्याङ्दी नदीको पानीका बहाम क्रमश खुल्दै गएको बताए। त्यस क्षेत्रमा सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर लगेर पानीको बहावलाई सुचारु गर्ने सन्दर्भमा छलफल भइरहेको उनले जानकारी दिए।

बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ। उक्त बस्ती प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘मर्स्याङ्दीको नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन हामी आग्रह गर्दछौँ।’ निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सडकमा क्षति पुर्याएको छ। विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला र  मर्स्याङ्दीको बाढीले पनि मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो।