बिनासूचना गैरहाजिर ९ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले बिनासूचना लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका नौ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन सूचना जारी गरेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले सूचना जारी गर्दै सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण लिएर सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार ती प्रहरी कर्मचारीहरू तोकिएको मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका थिए। खोजतलास गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी उनीहरूको नाममा सूचना टाँस गरिएको थियो।

सूचनामा तोकिएको अवधिभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिमको कसुरमा नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने उल्लेख छ। साथै, नियमावलीको अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ उक्त सामूहिक सूचनामार्फत सम्बन्धित प्रहरी कर्मचारीलाई सफाइको मौका प्रदान गरिएको जनाइएको छ।

सूचनामा गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक प्रहरी नायब निरीक्षक शुक्रबहादुर महतो, जिल्ला प्रहरी कार्यालय सुनसरीको उजुरी छानबिन शाखाका प्रहरी सहायक निरीक्षक खर्गबहादुर गुरुङ, प्रहरी चौकी खुम्जुङ, सोलुखुम्बुका प्राविधिक प्रहरी सहायक हवल्दार रोशन राई र प्रहरी चौकी विरुवाअर्चले, स्याङ्जाका प्रहरी सहायक हवल्दार सुरेश नेपाली रहेका छन्।

त्यसैगरी नेपाल प्रहरी भौतिक पूर्वाधार महाशाखा प्राविधिक गुल्म, नक्सालका प्राविधिक प्रहरी जवान मोहन भण्डारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी जवान कल्पना रानामगर, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी जवान राजेन्द्र विश्वकर्मा, बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी जवान सुमन चौधरी र प्रहरी चौकी फदवामेचकुरी, कपिलवस्तुका प्रहरी जवान टोपलाल चौधरी पनि गैरहाजिर रहेको छन्।