बिपी राजमार्ग खुलाउने प्रयास जारी


काभ्रे – पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन विभिन्न प्रयास भइरहेको छ। उक्त राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

डिभिजन सडक कार्यालय, भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ। मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको उनले बताए। पछिल्लो केही दिनको वर्षाले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ।

विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ। सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरिएको थियो।

देशको पूर्वी तथा मध्य क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने महत्वपूर्ण जीवनमार्गका रूपमा रहेको बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो। राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार तथा दैनिक जनजीवन जोड्दै आएको छ। राजमार्गमा हुने अवरोधबाट यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार–व्यवसायमा पनि प्रत्यक्ष असर पर्ने छ।