काठमाडौं–प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भुमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भुमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रवार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको बताएका छन ।
समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, श्रम रोजगार मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले घटनासँग सम्बन्धित साना दर्जाका प्रहरी र कर्मचारीलाई मात्र निलम्बन र सरुवा नगरी उनीहरूको मनोबल नगिर्ने गरी समाधान खोज्न निर्देशन दिएको छ । समस्याको समाधान गर्न तथा न्यायोचित समाधान गर्न प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने र उक्त घटना हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार यातायातमन्त्रीको भुमिकाको बारेमा शुद्ध छानबिन गर्न समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया