काठमाडौं – सर्वसाधारणका लागि १२ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीमा रहेको आशुतोष इनर्जी लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार खुद नाफा बढेर ९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
२०७४ देखि सञ्चालनमा रहेको कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कात्तिक २० गते स्वीकृति पाइसकेको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको हो।कम्पनीको नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको ईपीएस २० रुपैयाँ ३७ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ रुपैयाँ ५० पैसा मात्रै थियो।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २३ करोड ९९ लाख रुपैयाँ कुल नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २० करोड ७ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा १८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो नाफा १४ करोड ९१ लाख रुपैयाँ थियो। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल सम्पत्ति १ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको मध्यम तथा दीर्घकालीन ऋण ९८ करोड ८७ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ छ।
आईपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल
आशुतोष इनर्जीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले पाएको छ। धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै कम्पनी आईपीओ निष्कासनको तयारीमा छ। एनएमबी क्यापिटलले आईपीओ निष्कासनको पाइपलाइनमा रहेका ११७ कम्पनीमध्ये आठवटा कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको छ। आशुतोष इनर्जीबाहेक पशुपति रिन्युएबल्स, हुलास फिनसर्भ हायर पर्चेज, सिड इनर्जी, काबेली हाइड्रोपावर, म्याग्दी हाइड्रोपावर, सिउरी न्यादी पावर र नगरकोट रिसोर्टको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक पनि एनएमबी क्यापिटल नै रहेको छ।
दुई वर्षदेखि लाभांश वितरण
कम्पनीले शेयरधनीलाई आकर्षक नगद लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कम्पनीले करसहित १८.९४ प्रतिशत नगद लाभांश वितरण गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १५.७८ प्रतिशत नगद लाभांश दिएको थियो।
८.६३ मेगावाटको आयोजना सञ्चालनमा
आशुतोष इनर्जीले लमजुङको दूधपोखरी गाउँपालिका–१ र २ स्थित चेपे खोलामा ८।६३ मेगावाट क्षमताको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले २०७९ असोज १६ गतेदेखि यस आयोजनाबाट विद्युत् उत्पादन सुरु गरेको हो। कम्पनीले कीर्तिपुर–उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन समयमै निर्माण हुन नसक्दा आयोजनाको विद्युत् पूर्ण क्षमतामा बिक्री गर्न समस्या भएको जनाएको छ। वैकल्पिक माध्यमबाट विद्युत् बिक्री गर्नुपर्दा उत्पादन क्षमताको पूर्ण उपयोग गर्न नसकिएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार मर्स्याङ्दी करिडोरका विभिन्न जलविद्युत् आयोजनाको अगुवाइमा २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण अघि बढाइएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कीर्तिपुर–उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न हुने कम्पनीको अपेक्षा छ। प्रसारण लाइन निर्माणपछि आयोजनाबाट उत्पादित विद्युत् सहज रूपमा बिक्री गर्न सकिने कम्पनीको विश्वास छ।
कम्पनीका भावी योजना
आशुतोष इनर्जीले सञ्चालनमा रहेको ८।६३ मेगावाट क्षमताको चेपे खोला आयोजनाबाट सम्भव भएसम्म बढी विद्युत् उत्पादन गर्ने योजना बनाएको छ। यसका लागि प्रविधिको उच्चतम प्रयोग, स्रोतसाधनको व्यवस्थापन तथा परिचालनलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ। त्यस्तै, जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने, दुई मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने र २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माणका लागि आवश्यक समन्वय गर्ने कम्पनीको योजना छ। प्रसारण लाइन निर्माण सम्पन्न भएपछि हाल अपनाउनुपरेको आकस्मिक वैकल्पिक व्यवस्थालाई अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणसँग पहल गर्ने पनि कम्पनीले जनाएको छ।
को–को छन् सञ्चालक ?
आशुतोष इनर्जीको सञ्चालक समितिमा अध्यक्षसहित छजना रहेका छन्। कम्पनीको अध्यक्षमा मोहनविक्रम कार्की छन्। सञ्चालकहरूमा विद्यालक्ष्मी पाण्डे, गोविन्द पाण्डे, श्याम बरायल र महेश थापा रहेका छन्। त्यस्तै, दीपबहादुर सिंह कम्पनीका स्वतन्त्र सञ्चालक हुन्।





About Us
प्रतिक्रिया