नेपाललाई लगातार तेस्रो वर्ष ‘बीबी माइनस’ क्रेडिट रेटिङ

'बैंकिङ्ग क्षेत्रमा बढ्दो खराब कर्जा चिन्ताको विषय'


काठमाडौं – नेपालले तेस्रो वर्ष पनि ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बीबी माइनस’ मै कायम राखेको हाे। नेपालले पहिलो पटक विसं २०८१ मङ्सिर ७ गते सार्वभौम क्रेडिट रेटिङ प्राप्त गरेको थियो। त्यसपछि विसं २०८२ मङ्सिर २ गते पनि नेपालले ‘बीबी माइनस’ रेटिङ पाएको थियो।

फिचले नेपालको आर्थिक तथा वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै भविष्यको दृष्टिकोण (आउटलुक) समेत स्थिर राखेको हो। सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि फिच रेटिङको विश्लेषकहरूको टोलीले नेपालको स्थलगत मूल्यांकन गरेको थियो। स्थलगत मूल्यांकनका लागि फिचको टोली गत कात्तिक दोस्रो साता नेपाल आएका थिए। टोलीले नेपालका विभिन्न सरकारी निकाय, निजी संघ/संगठन, विकास साझेदार, पूर्वअर्थमन्त्री, अर्थविद्लगायतसँग छलफल गरेको थियो। सोही मूल्यांकनका आधारमा टोलीले यस वर्षका लागि पनि अघिल्ला दुई वर्षकै जस्तो रेटिङ दिएको हो। 

फिचले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा नेपालको न्यून सरकारी ऋण, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बलियो रेमिट्यान्स आप्रवाहलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ। फिचले चालू आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धि ३.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।

यस्तै, फिचले बैंकिङ्ग क्षेत्रमा बढ्दो खराब कर्जालाई भने चिन्ताको विषय मानेको छ। सन् २०२६ सेप्टेम्बरको मध्यसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ५.७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ। फिचले आव २०८४/८५ मा नेपालको आर्थिक वृद्धि उल्लेख्य सुधार भएर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। पुनर्निर्माण गतिविधिमा तीव्रता आउने तथा जलविद्युत् आयोजना र विद्युत् प्रसारण पूर्वाधार पुनःस्थापना हुने भएकाले आर्थिक वृद्धिले गति लिने फिचको अनुमान छ ।

Skip This