काठमाडौं – तिहार धार्मिक तथा सांस्कृतिक महत्त्वको पर्व मात्र होइन, बजारमा उपभोग र कारोबार बढाउने आर्थिक अवसर पनि हो। घर सजाउने झिलिमिली बत्ती, फूल माला, मिठाई, ड्राइफ्रुट्सदेखि उपहारका सामग्रीसम्मको खरिदबिक्री बढ्दा तिहारले बजारलाई चलायमान बनाउँछ। चाडपर्वमा बढ्ने उपभोग, नगद प्रवाह र विदेशबाट आउने रेमिट्यान्सले अर्थतन्त्रमा थप गति दिने गरेको छ।
दसैंमा लत्ताकपडा, खाद्यान्न र घरायसी सामग्रीको खरिद बढी हुने गर्छ भने तिहारमा झिलिमिली बत्ती, फूल, रंगरोगन, मिठाई र ड्राइफ्रुट्सको कारोबार बढ्छ। लक्ष्मीपूजा, भाइटिका र पारिवारिक जमघटका कारण बजारमा विभिन्न वस्तुको माग बढ्ने गरेको छ। यही माग पूरा गर्न व्यवसायीले आयातदेखि आन्तरिक उत्पादनसम्मको तयारी गर्छन्।
अर्थविद् ज्ञानेन्द्र अधिकारीका अनुसार दसैंतिहारमा हुने खर्चले बजारमा आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ। वर्षभरिको खर्चमध्ये ठुलो हिस्सा यही अवधिमा हुने भएकाले चाडपर्वको प्रभाव अर्थतन्त्रमा पनि देखिने उनको भनाइ छ। यद्यपि, यसको प्रभाव तत्कालभन्दा केही समयपछि बढी देखिन सक्छ। ‘तिहारको समयमा हुने अनावश्यक आयातलाई नियन्त्रण गर्ने प्रयास गरिए पनि माग बढेका बेला आयात नियन्त्रण गर्न कठिन हुन्छ,’ उनी भन्छन्।
झिलिमिली बत्तीमा मात्रै ६४ करोडभन्दा बढीको आयात
तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको असोजसम्म ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान झिलिमिली बत्ती आयात भएका थिए। यस वर्ष आयातको मूल्य बढे पनि परिमाण भने घटेको देखिन्छ। अर्थात् आयातित बत्तीको औसत मूल्य बढेको छ।
तिहारमा घर, पसल तथा सार्वजनिक स्थल सजाउन झिलिमिली बत्तीको प्रयोग व्यापक हुन्छ। पछिल्लो समय सजावटका विभिन्न प्रकारका बत्तीको प्रयोग बढ्दै जाँदा यसको बजार पनि विस्तार भएको छ। चालु आवको पहिलो तीन महिनामै नेपालले कुल ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरिसकेको छ।
ड्राइफ्रुट्सको आयात तीन अर्ब नाघ्यो
तिहारमा लक्ष्मीपूजा, भाइटीका तथा पारिवारिक जमघटका अवसरमा ड्राइफ्रुट्सको प्रयोग र माग बढ्छ। काजु, बदाम, ओखर, नरिवल, पिस्ता, खजुर र अञ्जिरलगायतका वस्तु भाइमसलाका रूपमा प्रयोग हुने भएकाले यो समयमा यसको कारोबार उच्च हुने गर्छ। उपहारका रूपमा ड्राइफ्रुट्स दिने चलन बढ्दै जाँदा यसको बजारसमेत विस्तार भएको व्यवसायीहरूको बुझाइ छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको असोजसम्म ड्राइफ्रुट्सको आयात मूल्य तीन अर्ब रुपैयाँ नाघेको छ। यसको आयातबाट सरकारले ५४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यसले तिहारका लागि हुने तयारीले आयात व्यापार र सरकारी राजस्वमा समेत योगदान पुर्याउने देखाउँछ।
फूलमालाको कारोबार ४८ करोड पुग्ने अनुमान
तिहारलाई फूलको पर्वका रूपमा पनि चिनिन्छ। लक्ष्मीपूजा, भाइटिका र घर सजावटका लागि सयपत्री, मखमली तथा अन्य फूलको माग उच्च हुन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी तिहारमा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरेको छ।
संघका अनुसार तिहारमा सयपत्रीका ४५ लाख, मखमलीका छ लाख, गोदावरीका २० हजार र मिश्रित फूलका ६० हजार माला खपत हुने अनुमान छ। यसबाट करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने संघको प्रक्षेपण छ। फूलमालाको कारोबारले आन्तरिक उत्पादन र स्थानीय व्यवसायलाई समेत चलायमान बनाउँछ। तिहारमा फूलको माग बढ्दा व्यावसायिक फूलखेती गर्ने किसानदेखि थोक तथा खुद्रा विक्रेतासम्म लाभान्वित हुन्छन्।
भन्सार अवरोधले बजार महँगियो
तिहारमा माग बढ्ने समयमा प्राकृतिक विपत्तिका कारण अधिकांश भन्सार कार्यालय बन्द हुँदा आयात तथा आपूर्ति प्रभावित भएको व्यवसायीहरूको गुनासो छ। सीमित भन्सार नाकाबाट मात्र सामान आयात गर्नुपर्दा ढुवानी तथा आपूर्ति लागत बढेको र त्यसको असर बजार मूल्यमा परेको उनीहरूको भनाइ छ। चाडपर्व लक्षित सामानको माग उच्च हुने समयमा आपूर्ति सहज हुन नसक्दा बजारमा मूल्यवृद्धिको दबाब थपिएको व्यवसायीहरूको निष्कर्ष छ। आयातमा निर्भर वस्तुको आपूर्ति प्रभावित हुँदा त्यसको असर उपभोक्ताले बढी मूल्य तिरेर सामान किन्नुपर्ने अवस्थाका रूपमा देखिन सक्छ।
अर्थविद् डा. गोविन्द नेपाल पनि तिहारले आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन्। विदेशमा रहेका नेपालीहरू दसैँ–तिहारमा परिवारसँग भेटघाट गर्न स्वदेश फर्किने र परिवारका लागि खर्च पठाउने भएकाले यस समयमा बजारमा आर्थिक गतिविधि बढ्ने उनको भनाइ छ। तर, पछिल्लो समय धेरै नागरिकको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजारमा अपेक्षित नगद प्रवाह हुन नसक्ने चुनौती पनि रहेको उनी बताउँछन्।
चाडपर्वसँगै बढ्छ रेमिट्यान्सको प्रवाह
तिहारमा बजार चलायमान बनाउने अर्को महत्त्वपूर्ण आधार रेमिट्यान्स हो। विदेशमा रहेका नेपालीहरूले चाडपर्वका अवसरमा परिवारका लागि थप रकम पठाउने भएकाले दसैँतिहारको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने गरेको छ। परिवारसँग चाडपर्व मनाउने, किनमेल गर्ने र घरायसी खर्च व्यवस्थापन गर्ने उद्देश्यले विदेशबाट आउने रकमले बजारमा माग र नगद प्रवाह बढाउँछ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष २०८२ मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। त्यस वर्षको कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। त्यस्तै, अघिल्लो वर्ष २०८१ को कात्तिकसम्ममा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। त्यस वर्षको कात्तिक महिनामा मात्रै एक खर्ब १४ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स आएको थियो । यी तथ्यांकले चाडपर्वको समयमा रेमिट्यान्स आप्रवाह उल्लेख्य हुने गरेको देखाउँछन्।
अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार चाडपर्वमा परिवारसँग समय बिताउने, घुमफिर गर्ने, मिष्ठान्न भोजन गर्ने र उपहार आदानप्रदान गर्ने गतिविधिले खर्च बढाउँछ। विदेशमा रहेका नेपालीहरूले पनि चाडपर्व लक्षित गरी आफ्नो कमाइको ठुलो हिस्सा परिवारलाई पठाउने भएकाले बजारमा नगद प्रवाह बढ्ने उनको भनाइ छ। यसरी झिलिमिली बत्ती, ड्राइफ्रुट्स र फूलमालाको आयात तथा कारोबारदेखि आन्तरिक उत्पादन, उपभोग र रेमिट्यान्ससम्मले तिहारको आर्थिक चक्रलाई विस्तार गर्छन्। चाडपर्वमा बढ्ने मागले बजारलाई तत्काल चलायमान बनाए पनि त्यसको दीर्घकालीन लाभ भने स्वदेशी उत्पादन, रोजगारी र आन्तरिक आपूर्ति प्रणालीसँग जोड्न सक्नुमा निर्भर रहने विज्ञहरू बताउँछन्।






About Us
प्रतिक्रिया