काठमाडौं – दसैंका बेला भएका नक्कली नोटको कारोबारसम्बन्धी घटनाले चाडपर्वमा नगदको कारोबार गर्दा सतर्कता अपनाउनुपर्ने देखाएको छ। ओखलढुङ्गामा बोका खरिद गर्दा १९ हजार रुपैयाँका नक्कली नोट प्रयोग भएको र झापामा ३५ हजार भारतीय रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको थियो। दसैं सकिएर तिहार नजिकिँदै गर्दा बजारमा किनमेल, पशु चौपायाको खरिदबिक्री, मेला तथा अन्य गतिविधिमा नगदको कारोबार बढ्ने भएकाले सर्वसाधारण थप सचेत हुनुपर्ने देखिएको छ।
दसैं नेपाली समाजमा खुसी, उमङ्ग र आपसी सद्भाव साटासाट गर्ने पर्व हो। यस समयमा बजारमा किनमेलको चहलपहल बढ्छ भने गाउँघरमा पशु चौपायाको किनबेचसमेत हुन्छ। यसले गर्दा आर्थिक कारोबार सामान्य समयभन्दा बढी हुने गर्छ। यही चहलपहलको मौका छोपेर नक्कली नोटको कारोबार गर्नेहरू सक्रिय हुन सक्ने प्रहरीको भनाइ छ। यसैक्रममा असोज २६ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बैंकले एक हजार दरका दुई वटा नक्कली नोट दिएको भन्दै बैंकविरुद्ध उजुरी परेको थियो। यसअघि नै प्रहरीले नक्कली नोटको कारोबार भएका दुई घटनामा चार जनालाई पक्राउ गरिसकेको थियो।
असोज १९ गते दिउँसो ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–९, ककनीमा बोका किनबेचका क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री थिए। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार उनीहरूले सुनकोसी–९ का स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन वटा बोका खरिद गर्दा २८ हजार रुपैयाँको कारोबार गरेका थिए। त्यस क्रममा उनीहरूले १९ हजार रुपैयाँ बराबरका एक हजार दरका १९ थान नक्कली नोट प्रयोग गरेको पाइएको थियो। प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौंमा ल्याइएको खुलेको थियो।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाले असोज १४ गते बेलुका ३५ हजार भारतीय रुपैयाँ बराबरका नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा उनीहरू पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको किशनगन्जका अब्दुल माजिद र रुवेद आलमलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले माजिदको साथबाट भारतीय ५०० दरका ७० थान नोट बरामद गरेको थियो। बरामद नोटका अधिकांश नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको आशङ्कामा परीक्षणका लागि नेपाल राष्ट्र बैंक विराटनगर पठाइएको थियो। बैंकबाट गरिएको परीक्षणमा बरामद नोट नक्कली रहेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिएका थिए।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र सिंह थापाका अनुसार पछिल्लो समयमा नक्कली नोटको कारोबारका केही घटना देखिन थालेका छन्। दसैंका बेला बजारमा भिडभाड बढ्ने, सर्वसाधारणले किनमेलमा बढी खर्च गर्ने र आर्थिक कारोबार तीव्र हुने भएकाले नक्कली नोटको कारोबार गर्नेहरूले यही अवस्थाको फाइदा उठाउन सक्ने उनले बताए। उनका अनुसार नक्कली नोटको कारोबार रोक्न सर्वसाधारणलाई सचेत गराउने कामसमेत भइरहेको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार चाडपर्वका बेला अर्थतन्त्रमा नगद प्रवाह बढ्छ। मेला महोत्सवमा समेत नगदको कारोबार बढी हुने भएकाले जाली नोटको कारोबारमा संलग्न व्यक्तिहरूले यस्ता समय र स्थानलाई लक्षित गर्ने गरेका छन्। उनका अनुसार नोट लिने र दिने क्रममा सचेत भएर त्यसको वास्तविकता जाँच गर्नुपर्छ। कुनै नोट शङ्कास्पद लागेमा सम्बन्धित बैंक वा प्रहरीलाई जानकारी गराउनुपर्छ। कुनै एउटा नोट मात्रै शङ्कास्पद देखिए पनि त्यसलाई सामान्य रूपमा लिएर बेवास्ता गर्नु हुँदैन। जाली नोटको कारोबारसम्बन्धी गतिविधिबारे सम्बन्धित निकायलाई समयमै जानकारी गराउनु आवश्यक छ। जाली नोटको कारोबारमा संलग्न हुँदा कानुनी कारबाही हुन सक्ने विषयमा पनि सर्वसाधारण जानकार हुनुपर्छ। यस्तो कारोबारलाई सामान्य रूपमा लिन नहुने र यसबाट हुन सक्ने कानुनी तथा आर्थिक क्षतिबारे सबैलाई सचेत गराउन आवश्यक छ।

पौडेलका अनुसार सर्वसाधारण तहसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके जाली नोटको कारोबारबाट बच्न तथा यसले राष्ट्रको अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्नेछ। विशेष गरी दसैं र तिहारजस्ता ठुला चाडपर्वका बेला किनमेल, यात्रा, मेला तथा अन्य गतिविधिमा नगदको प्रयोग बढ्ने भएकाले सर्वसाधारण थप सतर्क हुनुपर्ने देखिन्छ। नोटको कारोबार गर्दा सावधानी अपनाउने, शङ्कास्पद नोटबारे सम्बन्धित निकायलाई जानकारी गराउने र जाली नोटसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी राख्ने हो भने यस्तो कारोबार नियन्त्रणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।
नक्कली नोट बनाउनेलाई कस्तो सजाय ?
मुलुकी अपराध संहिता, २०७४ को दफा २५६ अनुसार खोटा (नक्कली) मुद्रा बनाउन, बनाउने उद्योग सञ्चालन गर्न वा त्यसमा संलग्न हुन निषेध गरिएको छ। खोटा मुद्रा बनाउने वा बनाउने उद्योग गर्ने व्यक्तिलाई मुद्राको परिमाण र मूल्यका आधारमा पाँच वर्षदेखि दश वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यसैगरी, नक्कली मुद्रा हो भन्ने जानीजानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिदबिक्री, लेनदेन, निकासी पैठारी वा चलनचल्तीमा ल्याउने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।







About Us
प्रतिक्रिया