कुन क्षेत्रमा विशेष निगरानी ?

चाडपर्वमा काठमाडौंको सुरक्षा व्यवस्था कडा, साढे ३ हजार प्रहरी परिचालन हुने

'१२ सय ४२ वटा सीसीटीभी क्यामरा र ३ वटा ड्रोनबाट निगरानी गरिने'


काठमाडौं – आगामी चाडपर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउन काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ। असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने सुरक्षा योजनाअन्तर्गत काठमाडौंका प्रमुख नाका, भीडभाड हुने क्षेत्र तथा संवेदनशील स्थानमा सुरक्षा निगरानी बढाइने भएको हो।

सुरक्षा व्यवस्थापनका लागि काठमाडौंमा १ हजार २४२ वटा सीसीटीभी क्यामरा, तीन वटा ड्रोन तथा सार्वजनिक उद्घोष प्रणाली प्रयोग गरिने जनाइएको छ। अत्यावश्यक सूचना प्रवाहका लागि १० स्थानमा सार्वजनिक उद्घोष प्रणाली सञ्चालन गरिनेछ।

त्यस्तै, काठमाडौंका प्रमुख नाका तथा बढी भीडभाड हुने स्थानमा कुकुरसहितको सुरक्षा टोली परिचालन गरी नियमित चेकजाँच तथा निगरानी गरिनेछ। थप सहयोग तथा आकस्मिक अवस्थाका लागि ११० जनाको परिचालन गरिने जिल्ला प्रहरी परिसरका पवक्ता दान बहादुर थापाले बताए। 

उनका अनुसार, चाडपर्वको समयमा चोरी, पाकेटमारी, लुटपाट, जुवा तथा लंगुरबुर्जा, नक्कली नोट तथा वैदेशिक मुद्रा ठगी, नक्कली टिकट र यात्रु ठगीलगायतका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। लामो समय घर बन्द रहने अवस्थाका कारण हुनसक्ने चोरीका घटनालाई समेत ध्यानमा राखी सुरक्षा निगरानी बढाइनेछ।

सुरक्षा निकायले सम्भावित अपराध तथा जोखिमको पहिचान गरी अग्रिम तयारी, नियमित गस्ती, निगरानी, चेकजाँच तथा संवेदनशील स्थानमा प्रहरी उपस्थिति बढाउने जनाएको छ। कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिनेछ।

सुरक्षा योजनाअन्तर्गत चेकपोइन्ट, सर्च तथा विशेष अपरेशन सञ्चालन गर्नुका साथै प्रविधिको अधिकतम प्रयोग गरिनेछ। सीसीटीभी, ड्रोन, डिजिटल निगरानी तथा नयाँ कार्यशैलीसँगै समुदाय–प्रहरी सहकार्यलाई प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । 

यी क्षेत्रमा विशेष निगरानी
चाडपर्व अवधिमा धार्मिक स्थल, भीडभाड क्षेत्र, यातायात केन्द्र, बजार तथा वित्तीय संस्थालाई विशेष संवेदनशील क्षेत्रका रूपमा राखिएको छ।
धार्मिक स्थल– पशुपतिनाथ, गुह्येश्वरी, दक्षिणकालीलगायत
भीडभाड क्षेत्र– न्यूरोड, असन, कोटेश्वर, कलंकी
यातायात केन्द्र– नयाँ बसपार्क, कलंकी, बल्खु
बजार क्षेत्र– शपिङ मल, सुनचाँदी पसललगायत
कार्यालय तथा बैंक– सरकारी तथा निजी कार्यालय, बैंक तथा एटीएम

सुरक्षा निकायले चाडपर्वका बेला शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन तथा घर लामो समय बन्द राख्नुपर्ने भएमा आवश्यक सुरक्षा सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ।