७० थान भारतीय नक्कली नोटसहित अब्दुल माजिद र रुवेद आलम पक्राउ 


काठमाडौं – भारतीय नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको किसनगंजका अब्दुल माजिद र  रुवेद आलम रहेका छन्।  

झापाको दमक नगरपालिका वडा– ६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमक, झापाबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट भारतीय रुपैयाँ ५ सय दरका ७० थान (३५ हजार भारु) बरामद गरेको छ। 

उक्त बरामद गरिएको नोटहरूमध्ये अधिकांशको नम्बर दोहोरिएको पाइएपछि प्रहरीले चेकजाँचका लागि नेपाल राष्ट्र बैंक, विराटनगर, मोरङ पठाइएको थियो। प्रहरीका अनुसार, परीक्षणका पछि ती सबै नोटहरू नक्कली रहेको खुल्न आएको छ।उनीहरूलाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।