भ्रष्टाचार

नापी कार्यालय कलङ्कीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, ४ करोड ७४ लाख बिगो 


काठमाडौं- नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको तथा एकाघर परिवारका सदस्यहरूको आय, खर्च र लगानीको विस्तृत विश्लेषण गरिएको थियो।

अनुसन्धानबाट श्रेष्ठ तथा उनका एकाघर परिवारका सदस्यहरूले उक्त अवधिमा तलब तथा भत्ता, जग्गा बिक्री, छोरीको पारिश्रमिक, ऋण सापटी, घर तथा जग्गा बहाल, सवारीसाधन बिक्री, बीमा परिपक्वताबाट प्राप्त रकम तथा बैंक ब्याजलगायत विभिन्न वैधानिक स्रोतबाट कुल ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ ८७ पैसा आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ।

तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, कर्मचारी सञ्चयकोष तथा व्यक्तिगत ऋण–सापटी भुक्तानी र बैंक खातामा रहेको मौज्दातसमेत गरी कुल १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ।

आयोगका अनुसार कुल वैधानिक आयबाट कुल व्यय घटाउँदा ४ करोड ७४ लाख ४६ हजार बराबरको रकमको स्रोत पुष्टि हुन सकेन। आयोगले गैर कानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा श्रेष्ठकी श्रीमती कमला श्रेष्ठको नाममा समेत रहेको उल्लेख गर्दै सुबिन्द्र श्रेष्ठ र कमला श्रेष्ठविरुद्ध प्रचलित कानुनबमोजिम सजाय तथा बिगो असुल उपरको मागदाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।