प्रभु बैंकका सीईओ शर्माविरुद्ध पर्सामा फौजदारी अभियोग, तत्कालीन सनराइज बैंकमा हुँदा कर्जा प्रवाहमा चलखेल गरेको आरोप


काठमाडौं – तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (प्रभु बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत) सीईओ सुमन शर्माविरुद्ध फौजदारी मुद्दा दर्ता भएको छ। शर्माविरुद्ध प्रहरीले कर्जा स्वीकृति, धितो व्यवस्थापन र कर्जा प्रवाहको निर्णयलाई लिएर फौजदारी मुद्दा दायर भएको हो।

सनराइजका तत्कालीन सीईओ शर्माविरुद्ध अञ्जलि इन्टरनेशनललाई ऋण स्वीकृत दिएको विषयमा फौजदारी मुद्दा दायर भएको हो। उनीसहित चार जनाविरुद्ध प्रहरीले पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोग पत्र दायर भएको हो।

अभियोगमा तत्कालीन सीईओ शर्मासहित तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसी प्रतिवादी छन्। प्रहरीले उनीहरू ४ जनालाई नै फरारको सूचीमा राखेका छन्। प्रहरीले अभियोगसहित पक्राउ पुर्जीको अनुमति समेत मागेको छ।

अभियोग पत्रमा प्रहरीले कर्जा स्वीकृत गरेर धितो लिए पनि स्वीकृत भएअनुसारको कर्जा उपलब्ध नगराएको तथ्य राखेको छ। अञ्जलि इन्टरनेशनल पर्साको वीरगन्जमा निर्माण सामाग्री र हार्डवेयरको कारोबारी कम्पनी हो। प्रहरीले दायर गरेको अभियोगपत्रअनुसार व्यवसाय विस्तारका लागि धितोसहितको कर्जा माग गरेको थियो।

तर, २०८० साल वैशाखमा ३ करोड ८९ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएपनि कर्जा भुक्तानी नभएको अभियोग पत्रमा उल्लेख छ। सो रकम बराबरको ऋणका लागि ८९ लाख रुपैयाँ बराबरको धितो राखिएको थियो। यही कारोबारको विवादलाई विश्वासघात भन्दै प्रहरीले प्रभु बैंकका वर्तमान सीईओ तथा तत्कालीन सनराइज  बैंकका सीईओ शर्माविरुद्ध फौजदारी अभियोग दायर गरेको हो।