२ करोड ५१ लाखभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित हिला पटेल नियन्त्रणमा


काठमाडौं – सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले विशेष सुराकीका आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गरगहनासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया हिला पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरको सुन जस्तो देखिने विभिन्न किसिमका गरगहना फेला पारेको हो।

बरामद गरिएका गहनाहरूको परीक्षण तथा परिमाण यकिनका लागि असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा परीक्षण गर्दा उक्त धातु १ किलोग्राम शुद्ध सुन रहेको र जसको बजार मूल्य २ करोड एकाउन्न लाख ९३ हजार तिन सय पचास रूपैयाँ कायम भएको छ।

नियन्त्रणमा लिइएका पटेललाई बरामद गरिएका सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ। बरामद गरिएका गहनाहरूमा हार ९ पिस, औंठी ८१ पिस, चुरा १३ पिस, माला ४ पिस, हसुली किसिमको सिक्री ८ पिस, पत्थर सहितको झुम्का २० पिस, झुम्का २४ पिस, गोली औंठी १४ पिस, लकेट (जन्तर) १ पिस, पोते १७ पिस, सिक्री २४ पिस, बाली र जुली १८८ जोर, पत्थर सहितको टप ६४ जोर, नाकको फूली २२ पिस, पत्थरवाला हार २ पिस, सानो झुम्का १० पिस, कानको बाली ११ जोर र ब्रासलेट ८ पिस रहेका छन्।