वैदेशिक रोजगारीकाे नाममा ३४ लाख बढी ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेका विरेन्द्र तामाङ, मकवानपुरका कमल प्रसाद गौतम, अछामका गणेश बहादुर बुढा र रामेछापका बद्रि कुमार तामाङ रहेका छन्।

पक्राउमध्ये विरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रुपैयाँ, कमलले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, गणेशले अस्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रुपैयाँ र बद्रिले पोल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २१ लाख ८९ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धानकार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई ललितपुर महानगरपालिका–३ बाट, कमललाई काठमाडौं महानगरपालिका–७ बाट, गणेशलाई काठमाडौं महानगरपालिका– १३ बाट र बद्रिलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका– ९ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।