काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँबाट प्रहरीले ६५० लिटर तयारी अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने ४ हजार लिटर झोल पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा मोरङका मदन तामाङ र समीर तामाङ रहेका छन्।
प्रहरीका अनुसार मच्छेगाउँस्थित जस्ताको टहरोमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलंकीबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।चेकजाँचका क्रममा टहरोभित्र बिक्रीका लागि राखिएको ६५० लिटर तयारी घरेलु मदिरा र मदिरा उत्पादनमा प्रयोग हुने ४ हजार लिटर झोल पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, मदिरा उत्पादनमा प्रयोग हुने भाँडाकुँडा तथा चुलोसहितका ६ सेट, मदिरा राख्न प्रयोग गरिएका ३० थान प्लास्टिकका ड्रम र २० थान प्लास्टिकका ग्यालनसमेत बरामद गरिएको छ। स्थानीय तथा जनप्रतिनिधिको रोहबरमा बरामद गरिएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको छ।उनीहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कलङ्की पठाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया