१ किलो सुनका गरगहनासहित मानिक दास प्रहरीको फन्दामा  


काठमाडौं – प्रहरीले सुनका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका– २६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई  १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको न्यूरोड एरियामा अवैध रूपमा सुनका गरगहनाहरू भण्डारण तथा बिक्रि बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगदसहित काठमाडौं महानगरपालिका– २६ भेडासिंहबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ।