त्रिभुवन विमानस्थलबाट १ किलो ६४३ ग्राम सुनसहित ४५ जना प्रहरीको फन्दामा 


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन ओसारपसार तथा तस्करी गर्ने गतिविधिमाथि गरिएको निगरानी तथा सुरक्षा जाँचका क्रममा ४५ जना पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्म गरिएको सुरक्षा जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट कुल १ किलो ६४३ ग्राम सुन बरामद भएको छ। बरामद सुनको अनुमानित मूल्य ४ करोड २५ लाख ७३ हजार १८६ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारेर तस्करहरूले सुन नेपाल भित्र्याउने प्रयास गरेको देखिएको छ। उनीहरूलाई सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।