५ करोड ४० लाख ठगी मुद्दामा  किरण वैद्य  पक्राउ


काठमाडौं- ठगी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भई बस्दै आएका ७० वर्षीय किरण वैद्य रहेका छन्।

प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–२० स्थित कित्ता नम्बर २७ लगायत ४८ कित्ता जग्गा हदबन्दी कायम भई बिक्री–वितरण गर्न नमिल्ने अवस्थाबारे जानकारी हुँदाहुँदै बिक्री गर्ने भन्दै वैद्यले बैना कागज गरेका थिए। सो क्रममा उनले बैना रकमबापत ५ करोड ४० लाख रुपैयाँ लिएको आरोप छ।

उक्त घटनासम्बन्धी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि वैद्य फरार रहेका थिए। प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१, नक्सालबाट नियन्त्रणमा लिएको हो। वैद्यविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।