काठमाडौं – काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउन वलीले सेवाग्राहीलाई अनावश्यक दुःख, सास्ती तथा हैरानी दिँदै घुस माग गरेको सूचना एवं उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई भदौ ३१ गते काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार वलीले घुसबापत लिइसकेको ९ लाख रुपैयाँसहित पक्राउ परेका हुन्।
पक्राउ परेका वलीविरुद्ध घुसरिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीमाथि आज विशेष अदालतको आदेशबाट वलीलाई म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको अख्तियारले जनाएको छ।






About Us
प्रतिक्रिया