१ अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न मुखिया प्रहरीको फन्दामा 


काठमाडौं – १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखिया रहेका छन्।धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोलीले उनलाई शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिएको हो। 

सीआईबीले विभिन्न समयमा प्राप्त गोप्य सूचनाका आधारमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको विषयमा अनुसन्धान तथा विश्लेषण गरिएको थियो। अनुसन्धानका क्रममा विभिन्न व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको सीआईबीले जनाएको छ। 

पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको छ। साथै, उक्त अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई समेत तीव्र बनाइएको प्रहरीले जनाएको छ। साथै, सीआईबीले अवैध हुण्डी कारोबारलगायत आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउने सर्वसाधारणप्रति आभार व्यक्त गर्दै शान्त र सुरक्षित समाज निर्माणका लागि यस्ता गतिविधिबारे प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ। सूचनादाता तथा प्राप्त सूचनाको उच्च गोपनीयता कायम राखिने प्रहरीले जनाएको छ।