काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६१ लाख ६२ हजार ५०० रुपैयाँ योगदान गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिबाट प्रभावितहरूको सहयोगका लागि आयोगका पदाधिकारी तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरेका हुन्।
आयोगका अनुसार पदाधिकारीहरूको १५ दिन, आयोगका सचिवको १० दिन तथा आयोग र मातहतका कार्यालयमा कार्यरत निजामती तथा प्रहरी सेवाका सहसचिव र सोसरहका राष्ट्रसेवक कर्मचारीको १० दिन बराबरको तलब कट्टा गरिएको छ।
त्यसैगरी, उपसचिव, शाखा अधिकृत तथा सोसरहका कर्मचारीको सात दिन, राजपत्र अनङ्कित कर्मचारीको पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको तलब स्वेच्छिक रूपमा कट्टा गरी कोषमा जम्मा गरिएको आयोगले जनाएको छ।






About Us
प्रतिक्रिया