ठमेल क्षेत्रमा सार्वजनिक शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न ४७ जनामाथि मुद्दा


काठमाडौं – काठमाडौंको ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई लागूऔषध तथा यौनजन्य गतिविधिमा संलग्न हुन दुरुत्साहन गर्ने, दुःख–हैरानी तथा अभद्र व्यवहार गर्ने र रात्रिकालीन व्यवसायमा बिचौलियाको रूपमा काम गर्ने आरोपमा पछिल्ला दुई दिनमा ४७ जनामाथि मुद्दा दर्ता गरिएको छ।

प्रहरीका अनुसार ठमेल क्षेत्रबाट हिजो २२ महिला र १३ पुरुष तथा आज ६ महिला र ६ पुरुष गरी कुल ४७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।

काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रमा सार्वजनिक स्थल तथा सडकमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई हैरानी दिने, अभद्र व्यवहार गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधिमा दुरुत्साहन गर्ने तथा डान्स, दोहोरी, बार र क्लबजस्ता रात्रिकालीन व्यवसायमा बिचौलियाका रूपमा कार्य गर्ने गतिविधि नियन्त्रणका लागि प्रहरीले कारबाही अघि बढाएको जनाएको छ।

यसैक्रममा २०८३ भदौ ३१ गते बिहान २ बजेदेखि ६ बजेसम्म प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रबाट १४ जनालाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक छानबिन तथा अनुसन्धानका क्रममा तीमध्ये ६ पुरुष र ६ महिला गरी १२ जनाको उल्लिखित गतिविधिमा संलग्नता देखिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।