क्यापिटल मार्केट डिस्कोर्श

‘ब्रोकरहरु आफ्नै टीएमएस चलाउन स्वतन्त्र छन्, नेप्सेको टीएमएस बाध्यात्मक होइन’

'नेप्सेले अहिलेसम्म एआई प्रयोग गरेको छैन, बट्स अर्डर नियन्त्रणको मेकानिजम नै छैन'


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइटमा आउने समस्यालाई लिएर धेरै चिन्ता हुने गरेको छ। तर, नेप्सेको वेवसाइटमा आउने सममस्यालाई लिएर आत्तिनुपर्ने अवस्था होइन। यो सामान्य प्रक्रिया हो। यता डिम्याट प्रयोगकर्ताको संख्या ८० लाख पुगेको छ। यसमध्ये कतिले टीएमएस चलाउँछन् र कतिले दैनिकरुपमा सक्रिय कारोबार गर्छन् भन्ने सबैले बुझ्न जरुरी छ।

फेरी धेरैमा टीएमएस र नट्सबीचको फरक नै जानकारी नहुन पनि सक्छ। नट्स भनेको कारोबारको पुरै इकोसिस्टम हो। यसको केन्द्रमा म्याचिङ इन्जिन हुन्छ । जसमा बाइ अर्डर र सेल अर्डरहरु आएका हुन्छन्। त्यसपछि अरु एक्जिुलरी मोडलहरु पेरिफेरल मोडलहरु पनि हुन्छन् । जसमा १९/२० वटा नै मोडल छन्।

यही प्रक्रियामार्फत नै एकपटक नेप्से परिसूचक हजार अंकले घटेकोमा डिस्प्लेसम्बन्धी मोडलमा आएको एउटा समस्या हो। नेप्सेले आफ्नो समग्र सिस्टम हामीले २०७५ सालमा लन्च गरेको हो। सञ्चालनमा आएयता २०७७ भदौमा एकपटक समस्या आएको र त्यसपछि त्यस्तो ठूलो समस्या देखिएको छैन। त्यसकारण नट्स ढलिहाल्छ अथवा टिएमएस ढल्छ भनेर हामी आत्तिनुपर्ने अवस्था होइन। एक हजार अंकले घटेको बेला पुरै सिस्टम प्रभावित भएको नभएर डिस्प्लेमा मात्रे समस्या आएको मात्रै हो।

त्यसैले टिएमएस र नट्स फरक कुरा हुन्। नट्स पुरै कारोबार प्रणाली हो भने टीएमएस एउटा प्रडक्ट मात्रै हो। टीएमएस नट्सको एउटा अंग हो। स्टक एक्सचेञ्जहरुले संसारभरि नै सामान्य किसिमको टिएमएस दिन्छन्। बाँकी ब्रोकर अथवा ट्रेडिङ सदस्यहरुले नै विकास गर्ने अथवा भाडामा लिएर वा अन्य उपाय लगाएर आफै चलाउन सक्ने व्यवस्था छ। नेप्सेले सुरुमा टीएमएस लन्च गर्दा नै ब्रोकरहरुलाई आफ्नै टीएमएस राख्न, आफ्नो डेटा सेन्टर राख्न र त्यससँग सम्बन्धीत स्रोत साधन राख्न अनुमति दिइसकेको छ।

तर विविद कारणले सबै ब्रोकरले आफ्नै टीएमएस बनाएका छैनन्। सुरुमा ढिलो सूचना पाइयो भनेर ब्रोकरहरुले टीएमएस बनाउन नमानेपछि नेप्सेले नै बनाएर दियो। अहिले बुझाई टीएमएस नेप्सेले मात्रै बनाउने हो भन्ने छ। नेप्सेले हालसालै टीएमससँग सम्बन्धित विनियामावली संसोधन गरिसकेको छ। हाल १८ वटा ब्रोकरले आफ्नै एउटा टीएमएस र एक ब्रोकले अर्को छुट्टै र बाँकी ब्रोकरले नेप्सेको टीएमएस प्रयोग गरिरहेका छन्।

क्यापिटल मार्केटका प्रयोगकर्ताहरुलाई अझै सुविधा दिन चाहने हो भने ब्रोकरले आफ्नै टीएमएस बनाएर जान सक्ने व्यवस्था छ। तर अझैपनि यसमा के समस्या छ भने हालसम्मको कानूनी व्यवस्थाले स्थानीय डेभलपरहरूले बनाएको टीएमएस प्रयोग गर्नका लागि कानुनले रोकेको छ। यसले गर्दा विदेशी सफ्टवेयर ल्याउनुपर्ने बाध्यता छ। टीएमएसमा हामीले सुधार गर्नुपर्ने र सुधार गर्नसक्ने ठाउँ छ।

नेपाली भेण्डरले टीएमएस बनाउन दिने खालको नियमनका लागि पनि हामीले ड्राफ्ट तयार गरेका छौं। ड्राफ्ट तयार गर्ने हामीले हो तर, लागू गर्ने धितोपत्र बोर्डले हो। यसमा एउटा मात्रै बाधा आएको छ। जसमा डेभलपरको कुरा छ। सूचनाको फ्लोलाई शेयर बजारमा गम्भीर रुपले लिनुपर्नेछ। तर, बिडम्बनाको कुरा नेप्सेले अर्बौको लाभांश सरकारलाई दिन सक्छ भने वेवसाइट बनाउन किन नसकेको भन्ने प्रश्न आइरहेका छन्।

तर, आफ्नो वेवसाइट राम्रोसँग चलाउन सक्दैन भन्ने तथ्यको समाधान खोजिरहेका छौं । यसका लागि पनि नेप्सेको पुनसंरचना हुनुपर्ने हाम्रो भनाई छ। नेप्सेको स्वामित्व परिवर्तन, स्ट्रक्चर र प्रविधि लगायतका विषयवस्तु परिवर्तनका कुरा गरेका छौं।

टीएमएसबाहेकको कुरा गर्दा नेपालको शेयर बजार धेरै अघि गइसक्यो। अहिले मानिसहरु हाल क्लब हाउस, युट्युव लगायतका सामाजिक सञ्जालमा पनि शेयरका बारेमा छलफल गर्न थालिसकेका छन्। तर, ती छलफलहरु बजार प्रभावित गर्ने खालको हुने जोखिम पनि छ । त्यसलाई डिटेक्ट गर्नुपर्ने हुन्छ। तर, युट्युवमा हुने छलफललाई हामीले डिटेक्ट गरिराख्नु पर्दैन । छलफल गर्ने, आफ्नो धारणा राख्ने गर्न पाइन्छ।

तर, त्यसलाई नियामकीय दायरामा ल्याएर छलफल गर्नुपर्ने देखिन्छ। धितोपत्र बोर्डले लाइसेन्स नै दिने गरेर समेत सम्बोधन गर्न सकिन्छ। यसबाहेक अहिले एआई तथा बट्सबाट पनि अर्डरहरु आउन थालेका छन्। यसलाई डिटेक्ट गर्न सक्ने नसक्ने भन्ने प्रश्न पनि आइरहेको छ। संसारका कुनैपनि स्टक एक्सचेञ्ज तथा क्यापिटल मार्केटको पुर्वाधारसँग बट्ससँग डिटेक्ट गर्ने कुनैपनि संयन्त्र छैन।

स्टक एक्सचेञ्ज तथा क्यापिटल मार्केटले बट्सबाट आउने अर्डरलाई अरु नै किसिमबाट सम्बोधन गर्न खोजिरहेका छन्। हाम्रो छिमेकी अथवा विकसित मुलुकहरुको अनुभवहरुलाई हेर्ने हो भने बट्स डिटेक्ट गर्नेभन्दा पनि अन्य उपाए खोजिरहेका छन्। यतिबेला बजारमा शेयर मुल्यमा हुने अनियमित गतिविधि रोक्न सक्ने प्रविधि प्रर्याप्त छ। हाम्रो प्रणालीमा सबै कारोबारको रेकर्ड बस्छ।

सबै अर्डरको रेकर्ड बसेको हुने हुँदा रेकर्डबाट नै मान्छेले अर्डर हालेको अथवा मेसिनले अर्डर हालेको भन्ने सहजै जानकारी लिन सकिन्छ। एक सेकेन्डमा ५/७ वटा अर्डर व्यक्तिले हाल्न सक्दैन। त्यो मेसिनले हालेको भनेर सहजै बुझ्न सकिन्छ। यहीकारण यसबारे बुझ्न सहज छ। यद्यपी सुरुमा नै डिटेक्ट गर्ने सिस्टम हामीसँग छैन। तर, पछि उपचारात्मक उपाय खोजी गरेर त्यसलाई सम्बोधन गर्ने त्यसको लागि हामीसँग प्रर्याप्त स्रोत साधन र जनशक्ति छ। हालसम्म नेप्सेले आफ्नो प्रणालीमा कुनैपनि एआई प्रयोग गरेको छैन।

(नेपाल क्यापिटल मार्केट डिस्कोर्शको तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले राखेको धारणा)