नेपाल क्यापिटल मार्केट डिस्कोर्श

‘युट्युब र टिकटकमा शेयर बजारको विश्लेषण गर्नेलाई लाइसेन्सको व्यवस्था गर्नुपर्छ’

लगानीकर्तालाई ७५३ वटै स्थानीय तहबाट सुसूचित गर्नुपर्छ


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विगतदेखि नै पुँजी बजारसम्बन्धी तालिम तथा सचेतनाका कार्यक्रम गरिरहेको छ। जसले गर्दा विराटनगर जुटमेलदेखि सुरुवात भएको मार्केट अहिलेको अवस्थामा पुगेको छ। तर पनि अझै ग्रामीण क्षेत्रमा मार्केटसम्बन्धी तालिम दिन सकिएको छैन। साथै, तालिम दिएको क्षेत्रमा पनि ‘रिजल्ट’ उल्लेख्यरुपमा देखिएको छैन।

अहिले ८० लाखको डिम्याट खाता छ। सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा बढी लगानीकर्ताहरु छन्। जलविधुत् क्षेत्रमा १० प्रतिशत शेयर अनिर्वाय रुपमा स्थानियलाई दिने व्यवस्थाका कारणले ग्रामीण क्षेत्रका लगानीकर्ताको डिम्याट अकाउन्ट धेरै छ। तर बास्तविक्ता कस्तो छ भने कृषि विकास बैंकको ऋणीहरुलाई उपलब्ध गराइएको शेयर आज दराजमा थन्किएको छ।

लगानीकर्तालाई लाभांश दिन सकिएको छैन। यस्तो अवस्थामा ७५३ वटा स्थानीय सरकारमार्फत लगानीकर्ताहरुलाई सुसूचित गरी तालिम गराएमा मार्केट अवश्य पनि प्रभावकारी हुन्छ। सामुदायिक कलेजहरुबाट, स्थानिय रेडियोमार्फतबाट लगानीकर्तालाई तालिम दिने व्यवस्था गर्नुपर्छ। ग्रामिण क्षेत्रका जनतालाई बजारको बारेमा बुझाउनु पर्छ।

जनतालाई मार्केट बारे बुझाउन सकिएन भने पुँजी बजारको विकास हुदैन्। सेबोनले मात्र पुँजी बजारको विकास गर्न सक्दैन्। तर सेबोन, स्टक एक्सचेन्ज, सिडीएस लगायतले मिलेर तालिम दिँदा पुँजी बजारको विकास हुन्छ। यहीकारण शेयर बजारको बारेमा वित्तीय साक्षरताका कार्यक्रम गर्नुपर्छ।

लगानीकर्ता आँफैमा सक्षम छैनन्। अझै स्मार्टफोन बोक्दैमा पनि सबै लगानीकर्ता सक्षम हुदैन्। स्थानीय स्तरमा गएर त्यहाँको स्थानीय भाषामा स्थानीय च्यानलमार्फत, सामुदायिक कलेजहरुमार्फत लगानीकर्तालाई ब्यालेन्स सिट बुझाउन सक्नुपर्छ। जबसम्म लगानीकर्ताले ब्यालेन्स सिटबारे बुझ्न सक्दैन, तबसम्म प्रतिफल कसरी प्राप्त गर्ने र कसरी सेकेन्ड मार्केटबाट उपलब्धि गर्ने बुझ्न सक्दैनन्।

यसरी सिकाउनका लागि दुई चार दिन तालिम दिएर मात्रै प्रयाप्त हुदैन। सेबोन, स्टक एक्सचेन्जले निरन्तर रुपमा लगानीकर्तालाई तालिम प्रदान गर्नुपर्छ। लगानीकर्ताहरुलाई कम्तीमा वित्तीय विवरण पढ्न सक्ने बनाउनुपर्छ। यूट्यूव, टिकटकमा पुँजी बजारसम्बन्धी अवधारणा राख्नका लागि धितोपत्र बोर्डबाट स्पेसल रुपमा लाइसेन्सन नै लिनुपर्ने व्यवस्था गर्नुपर्छ।

लाइसेन्स नलिई जथाभिवी रुपमा आफ्नो अवधारणा राख्दा पुजीँ बजारमा ठुलो उतारचढाव आउँछ। त्यसैले गर्दा शेयर बजारको बारेमा बोल्नका लागि लाइसेन्स लिनुपर्छ। पुजीँ बजार एकदमै संवेदनशील विषय हो। यूट्यूव, टिकटकमा आएको नकारात्मक न्युजले पुँजी बजारमा ठुलो असर पार्छ। नियामकीय निकायका व्यक्तिले समेत बजारको बारेमा बुझेर मात्रै आवधारणा राख्नुपर्छ।

साथै, बाहिर बसेर पुँजी बजारका विषयमा बोल्ने पनि लाइसेन्स लिएर मात्रै बोल्न दिनुपर्छ। छिट्टै यो कानुन बनाइएको अवस्थामा पुँजी बजारको विकास हुन्छ। यस्तो नभएको आवस्थामा लगानीकर्ताहरु झुटो मारमा पर्छन्। अहिले यूट्यूवका भिडियोको भरमा लगानी गर्ने लगानीकर्ताहरु धेरै छन्। अझै पनि धेरै लगानीकर्ताहरु बुझेर लगानी गर्दैनन्। आईपीओमा आउनेहरु पनि आईपीओ बिक्री गरी सकेपछि सेकेन्डरी मार्केटमा गए पैसा कमाइन्छ भन्ने सोचले लाग्ने गरेका छन्।

पछिल्लो समयमा शेयर बजारसम्बन्धी विभिन्न संघ संगठन खुल्न थालेका छन्। शेयर बजारमा अहिले झण्डै दर्जन हाराहारी संघसंस्था छन्। यो ठिकै पनि हो। किनकी, कसैलाई संगठन नखोल भन्न सकिँदैन। संगठन खोलेपछि पुँजी बजारको विकास गर्नुपर्ने हुन्छ। यस्ता संगठनले स्टक एक्सचेञ्जको कार्यलयदेखि सडकका साना लगानीकर्ताको संरक्षणको लागि लड्नुपर्छ।
(नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष ढकालले नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को ‘सचेत लगानीकर्ता, सबल पूँजीबजार’ नामक दोस्रो सत्रमा राखेको मन्तव्यको सम्पादित अंश)