चिलिमे पावरहाउसभित्र चार शव फेला


काठमाडौं-रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेको छ। आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउस क्षेत्रमा खोजी तथा उद्धार कार्यका क्रममा चार वटा शव भेटिएका हुन्। फेला परेका शवको पहिचान भने अझै खुल्न सकेको छैन।

भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीपछि आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारहरूको खोजी कार्य निरन्तर जारी रहेको छ।

फेला परेका शवको सनाखत तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। सुरक्षा निकाय र सम्बन्धित निकायले शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।