काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देश विपद् परिस्थितिमा रहेका बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले एकातर्फ देश विपत्तिको पीडामा रहेको र अर्कोतर्फ बजारमा महँगी तथा कालोबजारी बढ्दासमेत सरकारले प्रभावकारी हस्तक्षेप गर्न नसकेको टिप्पणी गरे।
सांसद प्रसाईंले अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए। ‘प्याज, चिनी, चामल र तेलजस्ता दैनिक उपभोगका वस्तुको मूल्य अकासिएको छ। चिल्ला गाडी चढ्नेहरूलाई यसको असर नपर्ला, तर सामान्य नागरिकको ढाड सेकिइसकेको छ,’ सांसद प्रसाईंले भने।
सांसद प्रसाईंले आफ्नो नेतृत्वकै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै महँगी नियन्त्रण, बजार अनुगमन र उपभोक्ता संरक्षणका क्षेत्रमा अपेक्षित काम हुन नसकेको बताए। उनले नवनियुक्त उद्योग मन्त्रीलाई शुभकामना दिँदै कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।
‘नयाँ मन्त्रीज्यूको भूमिका ‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भन्ने उखानजस्तो मात्र नहोस्। कालोबजारी नियन्त्रण र बजार व्यवस्थापनमा परिणाममुखी काम गरेर देखाउन सक्नुपर्छ,’ उनले भने। सांसद प्रसाईंले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थाप्रति पनि असन्तुष्टि जनाए। क्षमताभन्दा बढी यात्रु कोचेर सवारी सञ्चालन भइरहेको उल्लेख गर्दै उनले यसले सर्वसाधारणलाई दैनिक सास्ती भोग्न बाध्य बनाएको बताए।
गृह मन्त्रालय र यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले राजधानीमै ट्राफिक तथा सार्वजनिक यातायात व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी गरे। ‘के राजधानीमा समेत ट्राफिक व्यवस्थापन गर्न हाम्रो सामर्थ्य पुगेको छैन ? सरकारको मौनता र अक्षमताले राज्यको उपस्थितिमाथि नै प्रश्न उठाइरहेको छ,’ उनले भने।






About Us
प्रतिक्रिया