क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ


काठमाडौं – काठमाडौंको बूढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका बिकी लामा, सोलुखुम्बुका नुवाङ शेर्पा, पाशाङ शेर्पा र सिन्धुलीकी ज्योती मगर छन्।

त्यसैगरी, दोलखाका नारायण खत्री, काठमाडौंका दिल लामा, काभ्रेका अशोक लामा, नुवाकोटका संजय तामाङ, रामेछापका आषिश खड्का, ललितपुरका सविनमान श्रेष्ठ र धनकुटाका सुदिप अधिकारी पक्राउ परेका छन्।

बूढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित गरुड क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर हारजित हुने गरी जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ थान मोबाइल,५० हजार अंकित ८ थान क्वाइन, १० हजार अंकित १९ थान क्वाइन, १ हजार अंकित ८८ थान क्वाइन र १०० अंकित ५ थान क्वाइन बरामद गरेको जनाएको छ।

त्यस्तै, प्रहरीले नेपाली नगद १० लाख ८५ हजार ६ सय समेत बरामद गरेको छ। पक्राउ परेका उनीहरूमाथि जुवा सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई अनुसन्धानका लागि दुई दिनको म्याद थप गरेको छ।