किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङमाथि ९ वटा बैंकिङ्ग कसुर मुद्दामा ९ करोड बिगो दाबी 


काठमाडौं –  नुवाकोटको  किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङमाथि ९ वटा बैंकिङ्ग कसुर मुद्दा दर्ता भएको खुल्न आएको छ। ९ वटा बैंकिङ्ग कसुर र एउटा ठगीसम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले सोमबार सिंहदरबारको मुख्य गेटबाटै नियन्त्रणमा लिएको थियो। 

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले उनलाई हनुमानथानबाट पक्राउ गरेको हो। तामाङलाई सोमबार नियन्त्रणमा लिई आज अदालतमा पेस गरिएको छ। साथै, तामाङको सीआरएस अभिलेख चेकजाँच ९ वटा बैंकिङ्ग कसुर र एउटा ठगीसम्बन्धी कसुर मुद्दामा ९ करोड ७ लाख बिगो तोकिएपछि फरार रहेको खुल्न आएको छ।

उनीको जिल्ला प्रहरी परिसर काठमाडौंमा चार वटा बैंकिङ्ग कसुरको मुद्दा रहेको छ।साथै, जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जनसेवा, प्रहरी वृत्त दरबारमार्ग, प्रहरी वृत्त लैनचौर र प्रहरी वृत्त महाराजगन्जमा एक – एक वटा बैंकिङ्ग कसुर मुद्दा रहेको खुल्न आएको छ।

तामाङ प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी बनेर फर्किने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। उनी २०७९ सालको निर्वाचनमा विजयी भएका थिए।