कर्जा लिनु अघि सबै सर्त बुझ्न राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जा लिनु अघि सबै सर्त बुझ्न आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । कर्जा लिनु अघि आफ्नो भुक्तानी क्षमता, कर्जाको ब्याज तथा सेवा शुल्क, कर्जाको अवधि र भुक्तानी तालिका राम्रोसँग बुझेर मात्र कर्जा लिन केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकले विद्युतीय कर्जाको सीमा र समयावधि सम्बन्धी व्यवस्थामा स्पष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थामा तलबी एवम् पेसागत तथा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्ति र लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थामा तलबी एवम् पेसागत तथा व्यवसायिक आम्दानी जम्मा हुने खाता भएका प्राकृतिक व्यक्तिमा ३ वर्षको लागि ५ लाखसम्मको कर्जा पाउनेछन् । लघु, साना तथा मझौला व्यवसायी (अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जा) एक वर्षका लागि ५ लाख, लघु, साना तथा मझौला व्यवसायीमा १० लाख कर्जा उपलब्ध गराउन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो चालु पुँजी कर्जा नीति बमोजिम कर्जाको भुक्तानी अवधि निर्धारण गर्नुपर्ने छ ।