काठमाडौं- रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको उद्धार, राहत तथा प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने उद्देश्यले अर्थ मन्त्रालयले एकीकृत वेब पोर्टल सञ्चालनमा ल्याएको छ। बाढीपछिको सहयोग उपलब्धतालाई पारदर्शी र पहुँचयोग्य बनाउन मन्त्रालयले “रसुवा-भोटेकोशी बाढी अपडेट” पोर्टल (https://mofnepal.github.io/rasuwa-flood-update/) सञ्चालनमा ल्याएको हो।
नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध उक्त पोर्टलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, वैदेशिक सहायता र नेपाल सरकारका आधिकारिक निर्णयहरू एकै ठाउँमा हेर्न सकिनेछ।
पोर्टलमा सार्वजनिक विवरणअनुसार २०८३ भदौ २४ गतेसम्म अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत ३ सय ८९ वटा सहयोगबाट २ अर्ब १५ करोड २५लाख ४२ हजार ३ सय ९ रुपैयाँ प्राप्त भएको छ। एनसीएचएल, फोनपे र डलर खातामा प्राप्त वैदेशिक सहयोगसमेत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म कुल १२ अर्ब३१ करोड ५९ लाख ४२ हजार ३५ रुपैयाँ (करिब १२ अर्ब ३२ करोड रुपैयाँ) जम्मा भइसकेको छ।
भदौ २४ गते बिहान नौ बजेसम्म कोषमा ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ। विभिन्न स्रोतको तथ्यांक फरक–फरक समयको भएकाले एकीकृत हिसाब मिलान अर्थ मन्त्रालयको कोष शाखाले गरिरहेको छ।
पोर्टलमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीको उद्धार तथा राहत विवरण, मन्त्रिपरिषद्का निर्णयहरू र एकद्वार राहत प्रणालीका सम्पर्क व्यक्तिहरूको सूचीसमेत राखिएको छ। प्रकाशित प्रत्येक अङ्क आधिकारिक कागजातसँग भिडाएर मात्र अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बाढीपीडितका लागि सहयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई आधिकारिक भुक्तानी पोर्टल (https://donate.gov.np) मार्फत मात्र रकम पठाउन र नगद वा जिन्सी सहयोगका लागि एकद्वार प्रणालीका सम्पर्क व्यक्तिहरूसँग समन्वय गर्न आग्रह गरेको छ। साथै, उद्धारसम्बन्धी अनुरोधका लागि https://rescue.opmcm.gov.np प्रयोग गर्न सकिनेछ।






About Us
प्रतिक्रिया