ग्यास कालोबजारीको आरोपमा भक्तपुरमा दुई जना पक्राउ


भक्तपुर – खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्यबिनायक नगरपालिका–३  स्थित ब्रम्हनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्ने २५ वर्षीय उमेश साह र भक्तपुर नगरपालिका–२ इटाछेमा सगर ग्यास बेच्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य छन्।

उनीहरू बिहीबार साँझ पक्राउ परेका हुन्। शाहले उपभोक्तालाई प्रतिसिलिन्डर २८ सयमा ग्यास बेच्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ७५ थान भरिएको हिमाल ग्यास र १४ थान सगर ग्यास बरामद गरेको छ। आरोपीहरूमाथि जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ।