सुन तथा चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने चार जना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट सुन तथा चाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीले चोरी गरगहना खरिद गर्ने व्यक्तिहरूलाई समेत पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा मोहत्तरीकी सावन कुशवाहा(चोरी गर्ने), तेह्रथुमकी पबित्रा लिम्बु (चोरीको गरगहना किन्ने), दोलखाका श्रीकृष्ण बिश्वकर्मा (चोरीको गरगहना किन्ने) र भोजपुरका रमिला बिक (चोरीको गरगहना किन्ने) रहेका छन्। 

प्रहरीका अनुसार नरेफाँटस्थित घरमा कोही नभएको मौका पारी प्रवेश गरी दराजमा राखिएका सुन तथा चाँदीका गरगहना चोरी गरेर फरार भएको घटनाको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमार्फत जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट झुम्का, ठूलो बाला, सानो बाला, तिलहरी, पाउजु लगायतका  विभिन्न गरगहनासमेत बरामद गरेको जनाएको छ।