भाेटेकाेशी बाढीः

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड रुपैयाँ मौज्दात

राहतका लागि १ अर्ब हस्तान्तरण


काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल मौज्दात रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालय का अनुसार भदौ २३ गते (साँझ ५:०० बजे) सम्म कोषका ९ वटा रूपैयाँ खाता र २ वटा डलर खातामा गरी सो रकम जम्मा भएको हो।

खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ नगद र २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर (प्रतिडलर १५०.८८ रुपैयाँको विनिमय दरअनुसार ३ अर्ब १८४ करोड ४८ लाख रुपैयाँ) मौज्दात रहेको छ।

रसुवा र भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सहयोग प्राप्त भएको छ। यसअघि विपद्‌पूर्व कोषमा २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मात्र मौज्दात रहेको थियो। भदौ २३ गते मात्रै विभिन्न संघ-संस्था तथा व्यक्तिहरूबाट ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर कोषमा जम्मा भएको छ।

बाढी र पहिरोपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनर्नस्थापनाका लागि सरकारले भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरिसकेको छ।

सङ्कटको यस घडीमा प्रभावित परिवारहरूको सहायताका लागि निरन्तर सहयोग पुर्‍याउने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाता, नागरिक र संघ-संस्थाहरूप्रति अर्थ मन्त्रालयले हार्दिक आभार व्यक्त गरेको छ।