काठमाडौं – डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरस्थित सम्भाव्यता बहुउद्देश्यीय सहकारी संस्थाको ढोका फोडेर भल्ट फुटाई डाँका चोरी गरेको कसुरमा पक्राउ परेका सागर तामाङ भन्ने विजय मोक्तान जेनजी आन्दोलनमा फरार भएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनी काठमाडौंको विभिन्न क्षेत्रमा लुकिछिपी बसेको विशेष सूचना पाएपछि खोजतलास थालेको थियो। सोही क्रममा मोक्तानलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउपछि उनलाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। मोक्तानलाई डाँका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। फैसलाअनुसार उनले २ वर्ष ६ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया