चेकको भरोसा टुट्दै:

४ वर्षमा ९६ अर्ब ५६ करोड रुपैयाँ बराबरको ‘चेक बाउन्स’


काठमाडौं – वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने सपना बोकेर पिपिल थिङ तामाङले ४ लाख ४५ हजार रुपैयाँ बुझाए। राम्रो रोजगारी, आम्दानी र परिवारको भविष्य बदल्ने आशाले उनले निरक शाहीलाई उक्त रकम दिएका थिए। तर, समय बित्दै जाँदा पनि उनलाई कोरिया पठाउने भनिएको प्रक्रिया अघि बढेन।  विदेश जान नपाएपछि तामाङले आफूले दिएको रकम फिर्ता मागे।

रकम फिर्ता गर्ने क्रममा शाहीले आफ्नै बैंक खाताबाट भुक्तानी हुने गरी ४ लाख ४५ हजार रुपैयाँको चेक दिए। चेक हातमा परेपछि तामाङलाई आफ्नो पैसा फिर्ता हुने आशाले बैंक पुगे। तर बैंक पुग्दा त्यो आशा फेरि निराशामा बदलियो। खातामा पर्याप्त रकम नभएको भन्दै चेक बाउन्स भयो। शाहीले लक्ष्मी बैंक लिमिटेडमा आफ्नो नाममा रहेको खाताबाट चेकमा २०२५ नोभेम्बर ३० मा भुक्तानी हुने गरी ४ लाख ४५ हजार रुपैयाँ उल्लेख थियो।

उक्त चेक लिएर तामाङ नबिल बैंकको नयाँ बजार शाखामा पुगेका थिए। त्यहाँ पुगेर भुक्तानी लिन खोज्दा पनि रकम नै नभएको बैंकको चेक रहेको पत्तो पाए। त्यस्तै, दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परिन्। उनले दिएको करिब ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएका थिए। सोही आधारमा दैलेख प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यस्तै, गुन्डा नाइकेका रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) १० करोड बराबरको चेक बाउन्स मुद्दामा पक्राउ परे। सेफ सन्तोष साह बैंकिङ्ग कसुरमा पक्राउ परे। गैरीधारास्थित एक रेस्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप मा उनी पक्राउ परे। पर्सा प्रहरीले बैंकिङ्ग कसुरमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेलीलाई पक्राउ गर्‍यो।

तेलीले आफ्नो खातामा पैसा नहुँदा नहुँदै १६ लाख ७५ हजार रुपैयाँ बराबरको दुई वटा चेक काटेका थिए। प्रहरीमा परेको जाहेरीमा १० र ६ लाख ७५ हजारको दुई वटा चेक दिएको र बैंकबाट ती बाउन्स भएको पाइएको थियो। यी केही घटनाहरू उदाहरण मात्रै हुन्। आर्थिक अपराधका घटनाहरूमा सबैभन्दा बढी उजुरी नै चेक बाउन्सको पर्ने गर्छ।

तथ्यांकअनुसार, पछिल्लो चार वर्षमा प्रहरीमा ५१ हजार ८१४ वटा उजुरी परेको छ। चार वर्षमा ९६ अर्ब ५६ करोड ९८ लाख बराबरको चेक बाउन्सका उजुरी परेको छ भने ९ हजार ८१५ जना पक्राउ परेका छन्। आर्थिक कारोबारमा चेक बाउन्सका घटना बढ्नु विश्वासको संकटसँग जोडिएको प्रहरीको केन्द्रीय प्रवक्ता अवि नारायण काफ्ले बताउँछन्। काफ्लेका अनुसार आर्थिक कारोबारमा वस्तु दिने र पैसा लिने वा पैसा दिने तथा वस्तु लिने प्रक्रिया निरन्तर चल्दै आएको छ।

नगद उपलब्ध नभएको अवस्थामा नगद बराबरको रकम भुक्तानी हुने विश्वासमा चेक दिने प्रचलन रहेको उनले बताए। सम्बन्धित बैंकमा चेक प्रस्तुत गरेपछि त्यसलाई नगदमा परिणत गरी कारोबार सम्पन्न हुने व्यवस्था विश्वासमै आधारित रहेको उनको भनाइ छ। तर चेकमा उल्लेख भएको रकम बराबर बैंक खातामा मौज्दात नभएको अवस्थामा समस्या उत्पन्न हुने गरेको काफ्लेले बताए। खातामा पर्याप्त रकम नभएपछि बैंकले चेक भुक्तानी गर्न नसक्ने र चेक बाउन्स हुने अवस्था सिर्जना हुने गरेको उनले उल्लेख गरे।

उनका अनुसार नगद अभाव हुँदा भविष्यमा रकम भुक्तानी गर्ने विश्वासमा चेक दिने गरिन्छ। तर, तोकिएको समयमा खातामा पर्याप्त रकम नहुँदा चेक बाउन्स हुने र त्यसपछि कानुनी विवाद सिर्जना हुने गरेको उनले बताए। मोबाइल बैंकिङ्गको प्रयोग बढेपछि यस्ता समस्या कम हुनुपर्ने भए पनि सबै प्रकारका कारोबारमा यसको पहुँच पुगी नसकेको उनले बताए। विशेष गरी तत्काल भुक्तानी गर्न नसकिने, तर केही दिन, महिना वा अन्य निश्चित समयपछि रकम दिने सहमति भएका कारोबारमा अझै पनि चेकको प्रयोग हुने गरेको काफ्लेको भनाइ छ।

उनका अनुसार मोबाइल बैंकिङ्गले तत्काल उपलब्ध रकम स्थानान्तरण गर्न सहज बनाए पनि भविष्यको निश्चित समयपछि भुक्तानी गर्ने प्रतिबद्धताका लागि चेकको विकल्प सबै अवस्थामा प्रयोग गर्न सकिने अवस्था बनिसकेको छैन। उनले कारोबार गर्दा भुक्तानी क्षमता र समय सीमालाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै ‘पछि दिउँला’ भन्ने प्रवृत्तिले समस्या बढाएको बताए।

गत आर्थिक वर्ष २०८२/८३ मा देशभर प्रहरीमा १२ हजार ९५० वटा चेक बाउन्सका उजुरी परेका छन्। ती उजुरीमा १८ अर्ब ९ करोड ७१ लाख ८८ हजार ७४७ रुपैयाँ बराबरको चेक बाउन्स भएको प्रहरीको तथ्यांकले देखाएको छ। प्रहरीका अनुसार उक्त आर्थिक वर्षमा चेक बाउन्ससम्बन्धी घटनामा १ हजार १ जना पक्राउ परेका छन्। त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा भने देशभरबाट १३ हजार ६४८ वटा चेक बाउन्सका उजुरी परेका थिए।

ती उजुरीमा १७ अर्ब ५९ करोड ७१ लाख ६० हजार १५२ रुपैयाँ बराबरको रकम जोडिएको थियो। सो वर्ष चेक बाउन्ससम्बन्धी घटनामा ३ हजार १२९ जना पक्राउ परेका थिए। प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा उजुरीको संख्या ६९८ ले घटेको छ। यस्तै, आर्थिक वर्ष २०८०/८१ मा १३ हजार १८६ वटा चेक बाउन्सका उजुरी परेको तथ्यांक छ।

उक्त वर्ष १३ अर्ब ३७ करोड २८ लाख ७६ हजार ४९० रुपैयाँ बराबरको चेक बाउन्ससम्बन्धी उजुरी परेको थियो। सो वर्ष ३ हजार ३४४ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०७९/८० मा भने १२ हजार ३० वटा चेक बाउन्सका उजुरी परेका थिए। ती उजुरीमा ४७ अर्ब ५० करोड २६ लाख ६८ हजार ७७९ रुपैयाँ बराबरको रकम जोडिएको थियो। उक्त वर्ष चेक बाउन्ससम्बन्धी घटनामा २ हजार ३४१ जना पक्राउ परेका थिए।

चेक बाउन्समा विदेशी नागरिक पनि पर्छन् 
चेक बाउन्सका घटनामा प्रहरीले विदेशी नागरिकहरूलाई पनि पक्राउ गर्ने गरेको छ। गत आर्थिक वर्षमा चेक बाउन्सका घटनामा २५ जना विदेशी पक्राउ परेका छन्। आर्थिक वर्ष २०८१/८२ मा ११९ जना र आर्थिक वर्ष २०८०/८१ मा ५१ जना विदेशी पक्राउ परेका थिए। नेपाल राष्ट्र बैंक सहायक सूचना अधिकारी डा सञ्जय प्रसाद मिश्रका अनुसार काम गर्न आएका विदेशी नागरिकहरूले नेपालमा बैंक खाता खोल्न सक्छन्।

राष्ट्र बैंकको नियमअनुसार नेपालमा बसोबास गरिरहेका वा कार्यरत विदेशी नागरिकहरूले नेपाली बैंकहरूमा नेपाली रुपैयाँ वा परिवत्र्य विदेशी मुद्रा दुवैमा खाता खोल्न सक्ने उनले बताए। सोही बैंकमा खाता खोलेपछि बैंकले चेकबुक उपलब्ध गराउने गर्छन्। सोही चेकहरु नै बैंक खातामा रकम नहुँदा दिएको अवस्थामा चेक बाउन्स हुने उनी बताउँछन्।

के हुन्छ कारबाही ?
चेक जारी गर्दा खातामा पर्याप्त रकम नभएको वा अन्य कारणले चेक भुक्तानी हुन नसकेमा सम्बन्धित खातावालामाथि प्रचलित कानूनबमोजिम कारबाही हुन सक्ने व्यवस्था बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ मा व्यवस्था गरिएको छ। त्यसैगरी, चेक जारी गर्ने खातावालालाई बिगो रकमको ५ प्रतिशत जरिबाना हुने व्यवस्था उल्लेख गरिएको छ।

जसमा पन्ध्र लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भए तीन महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ। साथै, एक करोड रुपैयाँभन्दा बढी दश करोड रुपैयाँसम्म बिगो भए एक वर्षदेखि दुई वर्षसम्म कैद सजाय र दश करोड रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षदेखि चार वर्षसम्म कैद व्यवस्था गरिएको छ।