बाढी प्रभावितका लागि कृषि विकास बैंकको ३ करोड सहयोग


काठमाडौं – विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि कृषि विकास बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले प्राकृतिक विपद्को दुःखद घडीमा प्रभावित नागरिकको साथमा रहने उद्देश्यले उक्त सहयोग प्रदान गरेको जनाएको छ। प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले तीन करोड रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरणका क्रममा बैंक सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेको समेत उपस्थिति रहेको थियो। बैंकले विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।