बाढीपीडित राहतका नाममा हुने ठगीबाट सावधान रहन राष्ट्रिय वाणिज्य बैंकको आग्रह


काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रिय वाणिज्य बैंकले दुःख व्यक्त गर्दै राहत सहयोगका नाममा हुन सक्ने वित्तीय ठगीबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

बैंकले एक सार्वजनिक सूचनामार्फत बाढीपछि संवेदनशील अवस्थाको फाइदा उठाउँदै विभिन्न व्यक्तिले सामाजिक सञ्जाल, म्यासेज, फोन तथा अन्य माध्यमबाट अज्ञात वा अप्रमाणित क्युआर कोड र खाता नम्बर पठाएर राहतका नाममा रकम माग गर्न सक्ने जनाएको छ। यस्ता माध्यमबाट रकम पठाउन लगाई ठगी गर्ने तथा झुकाएर वित्तीय कारोबार गराउने गतिविधि हुन सक्ने भन्दै बैंकले सचेत रहन अनुरोध गरेको हो।

राहत सहयोग गर्न चाहने व्यक्तिले केवल आधिकारिक माध्यम प्रयोग गर्न बैंकले आग्रह गरेको छ। अज्ञात व्यक्तिले पठाएको क्युआर कोड वा खाता नम्बरमा रकम नपठाउन तथा व्यक्तिगत बैंकिङ्ग विवरण अपरिचित व्यक्तिसँग साझा नगर्न पनि बैंकले अनुरोध गरेको छ। कुनै कारोबार वा सहयोगसम्बन्धी गतिविधिमा शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय वा बैंक शाखामा सम्पर्क गर्न बैंकले सुझाव दिएको छ।

बैंकका अनुसार राहत सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंकको वेबसाइटमा उपलब्ध आधिकारिक क्युआर कोड तथा खाता नम्बरमार्फत सहयोग गर्न सक्नेछन्।