राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा चैत २७ गते सरकार गठन भएयता पूँजीबजार निरन्तर अन्योल बनिरहेको छ। २०८२ सालको फागुन २१ गते निर्वाचन सम्पन्न भएपछि रास्वपाले ल्याएको दुई तिहाइ बहुमतपछि देशमा राजनीतिक स्थिरता आउने भन्दै उद्योगी, व्यवसायी, लगानीकर्ता र सबैजसो क्षेत्र उत्साहित बनेको थियो। सोहीअनुसार सरकार गठन पनि भयो। तर, सरकारले आगामी कार्यदिशा स्पष्ट नपार्दा अर्थतन्त्रको ऐना भनिने देशको पूँजीबजार समस्यामा परेको छ।
सरकार गठन हुँदा २८ सय अंकभन्दा माथि रहेको पूँजीबजार यतिबेला २६ सय अंकको आसपास घुमिरहेको छ। यहीबीचमा नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष आइसकेका छन् भने बैंक तथा वित्तीय संस्थामा १४ खर्ब हाराहारी लगानीयोग्य रकम थुप्रिएर बसेको छ। यस्तै, बैंक ब्याजदर घटेर ६ प्रतिशत आसपास आइपुगेको छ भने गत आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको नाफा बढेको छ। तर, पनि बजार बढ्न नसक्नुको विषय र सरकारले लिनुपर्ने आगामी बाटोमा केन्द्रित रहेर अनुभवी लगानीकर्ता छोटेलाल रौनियारसँग ‘इन्भेष्टमेन्ट टक’मा गरिएको कुराकानीको सम्पादित अंश:–
नयाँ सरकार बनेयता शेयर बजार निरन्तररुपमा बजार घटिरहेको छ। सबै सूचक उत्कृष्ट छन्। तर पनि किन बजार घटिरहेको होला ?
दुई तिहाइको सरकार आएपछि हामीले बजार सुधारिने आशा गरेका थियौँ। नयाँ सरकार आउँदा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेपछि लगानीकर्ता एकदमै आशावादी बनेका थिए। एक पटक शेयर बजारमा दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार हुन थालेको थियो। सो समयमा गृहिणी, सरकारी कर्मचारी, प्रहरी र सेना तथा विद्यार्थी सबैले शेयर कारोबार गर्न थालेका थिए। २०८२ सालको फागुन २१ गते सम्पन्न निर्वाचनपछि उद्योगी व्यापारी, शेयर लगानीकर्ता सबै उत्साहित बनेका थिए। सरकार बनेको पहिलो दिन शेयर बजारले सकारात्मक सङ्केत पनि देखाएको हो। तर, प्रधानमन्त्रीले पहिलो दिन नै प्रतिपक्षी दलका नेतालाई पक्राउ गर्नुभयो। त्यसयता सरकारले बजारलाई गति दिने गरी काम नै गरेन।

त्यसो भए लगानीकर्ताले स्थिर सरकार आएपछि बजार बढ्छ भनेर गरेको अपेक्षा गलत साबित भयो ?
गलत साबित भएको छैन। नयाँ सरकार हो। सरकारमा सबै युवाहरू हुनुहुन्छ। उहाँहरू पढेलेखेको हुनुहुन्छ, जान्ने बुझ्ने हुनुहुन्छ। सरकारमा रहनु भएकाहरूले छलकपट र जालझेल गर्दैनन्। तर, पूँजीबजार प्रति सरकारमा रहेकाले गरेको निर्णयहरू स्पष्ट भएन। यसमा स्पष्टता चाहिन्छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि अलमल भयो। तर, अध्यक्ष आइसके पनि निरन्तर काम गर्दै हुनुहुन्छ। अर्थमन्त्रीले ज्यूले बजेटबाट कर नीति हेरफरे पनि गर्नुभयो। क्यापिटल गेन ट्याक्स (सीजीटी) अन्तिम भनेर वृद्धि गराइदिनुभयो। उहाँले साढे २ प्रतिशत क्यापिटल गेन ट्याक्स बढाइदिनुभयो। यससँगै, ५ प्रतिशत रहेको ‘सर्टटर्म’ सीजीटी ७.५ प्रतिशत र ‘लङटर्म’ १० प्रतिशत पुग्यो। सर्टटर्म कारोबारको कर ५० प्रतिशत बढ्यो। जसले लगानीकर्ता मारमा परे।

अर्थमन्त्री ज्यूले पटक–पटक भनिरहनु भएको छ कि उहाँलाई लगानीकर्ताले नै क्यापिटल गने ट्याक्स बढाइदिन अनुरोध गरेका हुन् ?
उहाँलाई कसैले गोप्यरुपमा भेटेर भनेको भए जानकारी छैन। उहाँलाई व्यक्तिगतरुपमा कसैले सुझाव पनि दिनुभयो होला। तर, आम लगानीकर्ताको सुझाव पो सुन्ने हो। एकाध लगानीकर्ताको सुन्ने होइन। पूँजीबजार आफैँमा समस्यामा थियो र लगानीकर्तामा आत्मविश्वास फर्किएको छैन। यस्तो अवस्थामा बजार घटाउनका लागि कर वृद्धिले पनि भूमिका खेल्यो।
तर, बजेट लगत्तै प्रतिक्रिया दिने लगानीकर्ताहरूले पनि सुरुवातमा यसको स्वागत गरेका थिए। उनीहरूले पुँजीगत लाभ कर नै अन्तिम कर भएपछि विगतमा लाग्दै आएको आयकर नलाग्ने भयो भनेर खुसीयाली पनि मनाएका थिए नि ?
कति जना लगानीकर्ताको माग ‘लस’ समायोजन पनि हुनुपर्ने छ। किनकि, लगानीकर्ताले घाटामा पनि कर तिरिहरेका छन्। अहिले लगानीकर्ताले खर्बौँ रकम गुमाएको अवस्थामा बलिया र सुधारात्मक नीति ल्याएर पूँजीबजार सुधारका लागि काम गर्नुपर्ने हो। सरकारले वास्तविक लगानीकर्तालाई बोलाएर भेटेर लगानीकर्ताको पिर मर्का सुनिएको छैन। बरु भेटघाटमा ब्रोकरहरु र ठुला लगानीकर्तालाई मात्रै बोलाइएको छ।

यसको अर्थ प्रधानमन्त्री र अर्थमन्त्रीले यसबीचमा बजारका सरोकारवालाहरूसँग गरेको भेटघाटमा वास्तविक लगानीकर्ता परेनन् ?
छैन। प्रधानमन्त्री र अर्थमन्त्रीले भेटघाटमा वास्तविक लगानीकर्ता बोलाउनु भएको छैन। ब्रोकरहरुलाई बोलाउनु भएको हो। अनि भेटघाटमा बिरामी भएको बारेमा मात्रै जानकारी लिनुभयो। बिरामीको औषधी दिने वा के कारण बजार शिथिल भयो भनेर बुझ्ने प्रयास गर्नुभएको छैन। सावा ब्याज तिर्न नसकेका लगानीकर्ता मारमा छन्।
अहिले दैनिक २ अर्ब हाराहारीको शेयर किनबेच भइरहेको छ। सरकार गठनयता प्रधानमन्त्रीले लगातार लगानीकर्तासँग ३–४ वटा भेटवार्ता गर्नुभयो। अर्थमन्त्रीले पनि भेट्नुभयो। लगत्तै एक दुई दिन बजार बढ्यो पनि। तर, दीर्घकालीन योजना नबनेको हो ?
पूँजीबजारमा वाचाले काम गर्दैन। भेटघाटले मात्रै काम गर्दैन। गभर्नर भेट्दैमा सेबोन अध्यक्ष भेट्दैमा र लगानीकर्ता भेट्दैमा बजार बढ्छ भन्ने हुँदैन। पूँजीबजारमा अन्यौलता हटाउनका आजको आजै काम गर्नुपर्छ। आश्वासन मात्रै बाढ्नु भनेको अन्यौलताको विषय हो। सेबोनका अध्यक्षले पनि शेयर बजार सुधारका लागि काम गर्नुहुन्छ। तर, त्यसमा समय लाग्छ, यहीकारण बजारलाई तत्काल सुधार गर्नका लागि ११ वटा सुधारका काम गर्नुपर्छ।






About Us
प्रतिक्रिया