स्मार्ट टेलिकम घोटाला प्रकरण: २२ जनाविरुद्ध ९६ अर्ब बिगो दाबी


काठमाडौं – सरकारी वकिल कार्यालय काठमाडौंले स्मार्ट टेलिकम घोटाला प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ। कार्यालयले प्रतिवादीहरूमाथि कुल ९६ अर्ब १२ करोड १७ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

प्रतिवादीमा स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी, नरेन्द्र उलक, ट्रान्सगेट टेककी सञ्चालक पलिना श्रेष्ठ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलगायत छन्।

साथै, एनसेलको सन् २०२३ को अफसोर कारोबारमा देखाइएको शेयर मूल्य र यसअघि नेपालमा कायम भएको मूल्यबीच ठुलो अन्तर देखिएको दाबीले राजस्व र कारोबारको वास्तविक मूल्याङ्कनबारे गम्भीर प्रश्न उठाएको छ। सन् २०१९ मा प्रति सेयर १ लाख २४ हजार १ सय मूल्य कायम भएको र ओटीसी बजारमा समेत सोही मूल्यमा कारोबार भएको अभिलेख रहेको दाबी गरिए पनि २०२३ को अफसोर कारोबारमा प्रतिशेयर ६२.५ अमेरिकी डलर अर्थात् करिब ८ हजार २५० मात्र मूल्य देखाइएको अभियोग पत्रले जनाइएको छ। यसरी मूल्य अन्तरका कारण करिब ८७ अर्ब २ करोड ६४ लाख बराबरको कारोबार मूल्य फरक परेको दाबी गरिएको छ।

यी हुन् २२ जना
यस प्रकरणमा स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी, नरेन्द्र उलक, ट्रान्सगेट टेक प्रालिका सञ्चालक पलिना श्रेष्ठ, बैंकका सीईओ पाण्डे, बैंकको कालिमाटी शाखा कार्यालयका तत्कालीन मेनेजेर भाष्कर नरसिंह जोशी, बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, बैंकको सञ्चालक समितिका निर्देशक प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला, दिपाङ्कर शाक्य उडाई, शालिकराम बेलबासे, शोभा श्रेष्ठ, प्रोफेसनल बिजनेस नेटवर्क प्रालिका खुमनाथ अधिकारी, स्मार्ट टेलिकमका साबिक सञ्चालक सतिश लाल आचार्य, स्क्वायर नेटवर्कका साबिक सञ्चालक, सतिशलाल आचार्य, सचिनलाल आचार्य, डा. श्रीधीर रिपुक्ता हन्स विजयसुरिया, अव्दुजावर कायुमोभ, थन्डालाम भिराभल्ली थिरुमला चारी, अमाली नानायाकरा, भावना सिंह श्रेष्ठ आचार्य, भुपेन्द्र भण्डारी, डोनाल्ड जेम्स रे, नियो हुई युलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायरा गरिएको छ।